कार्यसम्पादनमा प्रदेशकै कमजोर मेचीनगर स्वमूल्यांकनमा जिल्लाकै पाँचौ

न्युजलय ४ फाल्गुण २०८१, आइतबार ०८:२० मा प्रकाशित

झापा । कार्यसम्पादन मूल्यांकनमा कोशी प्रदेशकै कमजोर नगर बनेको मेचीनगर नगरपालिकाले स्वमुल्यांकनमा भने जिल्लाकै पाँचौ बढी अंक पाएको छ ।


सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत विकास र सुशासनको मापन गर्ने स्थानीय तह संस्थागत स्वमूल्यांकन (लिजा)मा मेचीनगरले १०० पूर्णांकमा ८२ अंक प्राप्त गरेको छ । कनकाई नगरपालिकाले ९४, भद्रपुरले ९२.७५, बिर्तामोडले ९१.५ र दमकले ८८.५ अंक पाएको छ । 


यता राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकनमा भने मेचीनगरले नगरपालिकाले ३९.२ प्रतिशत अंक पाएको छ । कोशी प्रदेशका नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाहरुमध्ये यो सबैभन्दा कम अंक हो ।


यस्तै वित्तीय सुशासन जोखिम मूल्यांकनमा मेचीनगरले ५६.५ अंक पाएको छ ।


मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्नीप्रसाद अधिकारीले कार्य सम्पादन मूल्यांकनमा जम्मा १७ वटा सूचकलाई आधार मानिने तर लिजामा १०० वटा सूचकलाई आधार मानिने बताउँदै थोरै सुचकको आधारमा मेचीनगरको अवस्था मूल्यांकन गर्न नहुने जिकिर गरेका छन् ।