२०७४ सालको निर्वाचनबाट इटहरीको मेयर निर्वाचित द्वारिकलाल चौधरीले आफ्नो कार्यकालको धेरैजसो समय यहाँका बाटाघाटा निर्माणको लागि खर्च गरे । ग्रामिण वस्तीको समस्या बुझेका उनले किसान र मजदुरलाई राहत दिलाउने गरी सडक पूर्वाधारमा विशेष ध्यान दिए ।
कच्ची बाटोमा वर्षौं हिडेका इटहरीवासीले धेरै ठाउँमा कालोपत्रे बाटोमा हिड्न पाए । शहरी नागरिकले स्वभाविक भनेपनि हिलो बाटोमा हिड्न बाध्य नगरवासीका लागि यो विकास सपनाझै थियो ।
ग्रामिण क्षेत्रमा भएको विकासले मतदातामा सकारात्मक प्रभाव पार्ने र एमालेको भोट बैंक बढ्ने अनुमान चौधरीको थियो । जसले अर्को पटक फेरी टिकट पाएमा आफूलाई सजिलो हुने उनको विश्लेषण थियो । नभएपनि एमालेका उम्मेदवारले अघिल्लो कार्यकालको जस लिने गरी आधार तयार भएको थियो ।
तर एमालेले यो पटकको चुनावमा उपमेयरसहित इटहरीका १५ वटा वडाध्यक्ष प्यानलै जितेर कार्यपालिकामा दुई तिहाइ सिट ल्याउँदा मेयर भने जिताउन सकेन । एमालेका वडाध्यक्षलाई भोट दिने नगरवासीले मेयरमा याम सुब्बाको साटो काँग्रेसका हेमकर्ण पौडेललाई दिए । पौडेलले ५ हजार बढी मतले चुनाव जिते ।
पहिलो पटक इटहरीमा एमालेबाहेकका उम्मेदवारले त्यो पनि यतिका धेरै मतले चुनाव जितिरहँदा एमाले समर्थककै भोट सहयोगि बन्यो । आफ्नो व्यक्तिगत प्रभावबाट एमालेकै भोट पाएर पौडेल मेयर बनिरहँदा यता एमालेमा भने अन्तरघात भएको र पार्टीका अन्य नेताहरुले नै असहयोग गरेको भन्दै दोषारोपण चलिरहेको छ ।
हुन त नेपाली काँग्रेस भित्र पनि अन्तरघातको चर्चा चर्कै छ । मेयर उम्मेदवार हेमकर्ण पौडेलले मेयर जित्दा पाँच वटा वडाध्यक्ष र केही सदस्य मात्र ल्याउन सकेको छ । जबकी अघिल्लो पटक मेयर हारेर पनि १२ वटा वडाध्यक्ष जितेको थियो ।
जे होस्, यसपटकको चुनावी नतिजाले नेपाली काँग्रेस भन्दा पनि हेमकर्ण पौडेलको लोकप्रियता पुष्टि गर्यो भने अर्कोतिर दुई तिहाइ वडा जितेर नेकपा एमालेले इटहरी अझैपनि आफ्नो मजबुत किल्ला हो भन्ने देखायो । तर तीन जना पार्टी केन्द्रिय सदस्य, दुई जना प्रदेश सांसद, पार्टी जिल्ला अध्यक्ष, तीन जना पार्टी प्रदेश सचिवालय सदस्य, मेयर, उपमेयरसहित ८ वटा वडाका वडाध्यक्ष अनि यतिका धेरै जनवर्गीय संगठन सञ्जाल भएको एमालेले इटहरीमा इतिहासमै पहिलो पटक चुनाव हार्नुका पछाडी केही कारण यस्ता छन् :-
१) अघिल्लो कार्यकालको अपजस
द्वारिकलाल चौधरीले आफ्नो कार्यकालमा जति राम्रा काम गरेर नाम कमाए, त्यो भन्दा बढी आफ्नो अभिव्यक्तिका कारण विवादमा तानिए । कहिले पत्रकार त कहिले नागरिक समाज, कहिले संघसंस्थाहरुका प्रतिनिधिहरुदेखि टोलविकास संस्थासम्म मेयर चौधरीको ठाकठुक परिरह्यो । जसले गर्दा उनको नेतृत्वमा भएका राम्रा कामहरु पनि ओझेल परे ।
यस्ता विवादहरुमा एमाले पार्टी र नेताहरु मौन बसेको भन्दै नगरवासी असन्तुष्ट थिए । पत्रकार, महिला सेवाग्राही, कर्मचारी, व्यापारी अनि सर्वसाधारण दुव्र्यवहारमा परिरहँदा पार्टी मुकदर्शक भएको भन्दै एकखाले वितृष्णा एमाले नेतृत्वप्रति रहिरह्यो ।
उता पौडेलले ती कर्मचारीदेखि व्यापारीहरुको पक्षमा आवाज उठाएर नगरवासीको ध्यान आफूतिर तान्न सफल भए ।
२) जातिगत सेन्टिमेन्ट
थारु तथा जनजाति समुदायमा जातिगत एकता हुने र आफ्नो उम्मेदवारलाई एकमुष्ठ भोट हाल्ने मान्यतालाई यहाँ हुने हरेक निर्वाचनमा ख्याल गर्ने गरिन्छ ।
हुन त याम सुब्बा आफैमा इमान्दार, नीति र विधिका पक्षपाती र असल नेता मानिन्छन् । अहिलेसम्म उनी आर्थिक, नैतिक रुपमा विवादमा परेका छैनन् । त्यसमा पनि जनजाति हुनु उनको लागि अर्को प्लस प्वाइन्ट भयो । तर, चुनावमा सोचेजस्तो भएन । थारु र जनजाति समुदायकै धेरै भोट पौडेललाई गयो ।
अर्कोतर्फ बाहुन क्षेत्री एमालेले पनि पौडेललाई भोट हाले । मेयर चौधरीले सार्वजनिक कार्यक्रमका साथै फेसबुकमा आफू आदिवासी थारु भएको कुरा पटक पटक उल्लेख गरेपछि बाहुन क्षेत्रीहरुलाई त्यो कुरा निकै अघिदेखि गढेको थियो । ‘इटहरीमा जहिले राइ लिम्बु, थारुहरु मात्र मेयर हुनुपर्ने ?’ भन्ने बाहुन क्षेत्री सेन्टिमेन्ट चुनावको मुखमै भित्रभित्रै आगोसरी सल्किएपछि त्यो पौडेलका लागि फाइदाजनक भयो ।
३) हेमकर्णको व्यक्तिगत प्रभाव
मेयर बन्ने सपना बोकेर एक दशकअघिदेखि हेमकर्ण पौडेलले बनाएको आधार जो कोहीको अनुमानबाहिर थियो । युवा, महिला, वृद्धदेखि व्यापारी, वस्तीदेखि संस्था अनि व्यक्तिसम्मलाई उनले गरेको सहयोगले उनलाई भित्रभित्रै लोकप्रिय बनाएको थियो ।
सहयोगको अपेक्षा लिएर उनलाई भेट्नेहरुले कहिल्यै खालि हात फर्कनुपरेन । उनले पार्टी नहेरी गरेको सहयोग उनले भोटबाट फिर्ता पाए । इटहरीमा सिटि सफारी चालकहरुदेखि व्यापारी अनि महिलाहरुले गुन तिरे । नेपाली काँग्रेसको सुधारिएको संगठन संरचनाले वडा वडामा उनको भोट त बढायो नै, उनको व्यक्तिगत प्रभाव अझ बढी देखियो ।
यता सुब्बा पौडेल जसरी व्यक्तिगत सम्बन्ध बनाउने मामलामा पछाडी थिए । इटहरीको भुगोलमा काम गरेपनि पार्टी, संगठनको सर्कलकै व्यवस्थापनमा उनी अल्मलिए । उनी फरक पार्टी अनि आफ्नै पार्टीका शुभचिन्तक र भोटर्सहरुसँग पनि व्यक्तिगत सम्बन्ध बनाउन चुके ।
४) एमालेभित्रको असन्तुष्टी र अन्तरविरोध
थोरै नै भएपनि भित्रभित्रै सल्केको एमालेभित्रको असन्तुष्टी र अन्तरविरोधले अन्ततः एमाले मेयर उम्मेदवारलाई नै भोट दिनुपर्छ भनिदिने नेता र कार्यकर्ताको पंक्तिलाई साँघुरो बनायो । केही एमाले नेताले आफूलाई निर्वाचनको सुरुवातदेखि नै पार्टीले जिम्मेवारी नदिएको अनुभव गरे । केही नेताले आफ्नो राजनीतिक भविष्यबारे पार्टीले नसोचिदिएको गुनासो गरे । यस्तो असन्तुष्टिले सुब्बाको लागि व्यक्तिगत रुपमा भोट मागिदिने मानिसको संख्या घटायो । गाउँसम्मै पनि एमालेभित्र झगडा छ, चुनाव जित्दैन भन्ने हल्ला फैलायो ।
हुन त काँग्रेसभित्रकै एउटा समुहले हेमकर्णलाई असहयोग गर्यो । काँग्रेस वडाध्यक्षलाई भोट दिने तर मेयरमा हेमकर्णलाई भोट नदिने मतदाताहरु धेरैजसो वार्डमा थिए । भोटिङ प्याटर्नले उनलाई काँग्रेस कार्यकर्ताहरुले नै नरुचाएको देखाउँछ । तर त्यो संख्यालाई एमालेमा रहेर उनलाई मन पराउनेहरुको संख्याले जित्यो । अन्तरपार्टी भोटबाटै, अझ भन्नुपर्दा एमाले शुभचिन्तकको भोटबाट हेमकर्णले चुनाव जिते ।
५) परिवर्तनको नारा
‘जहिले एमालेले मात्र नेतृत्व गर्ने ? अब नेतृत्व फेरौं’ भन्ने परिवर्तनको नाराले पनि मतदातालाई सोच्न बाध्य बनायो । ‘काँग्रेसलाई पनि जिताइ हेरौं न त के हुँदो रहेछ’ भनेर इटहरीवासीले परिक्षण गर्न चाहेको पनि देखिएको छ । फरक पार्टीबाट फरक उम्मेदवार आउँदा केही नयाँ हुने आशा नगरवासीलाई छ । खासगरी इटहरीवासीले पाँच वर्षदेखि चाहँदै आएको इटहरीको व्यवस्थित चोक र बजार, ढल निकास, टेंग्राको डुबान र कटान, सार्वजनिक शौचालय, सुविधासम्पन्न अस्पताल, सुलभ र गुणस्तरीय शिक्षा, रोजगार जस्ता क्षेत्रमा केही नयाँ हुने आशामा नगरवासीले फरक दलका उम्मेदवारलाई भोट दिए ।
यसरी, अन्तरपार्टी जनसम्पर्क र सक्रियता, नेपाली काँग्रेसको सुधारिएको संगठन संरचना ले पौडेललाई काँग्रेसभित्रको अन्तरविरोध र असहयोगका बाबजुद चुनाव जित्ने आधार प्रदान गर्यो । यता एमालेभित्रको अन्तरविरोध, जातिय विषय, एमाले नेतृत्वको अघिल्लो नगर सरकारको अपसजले गर्दा सुब्बालाई हानी गर्यो ।
मेयर नजितेपनि इटहरीमा एमालेले यो पटक आफ्नो अवस्थामा दोब्बर सुधार गर्यो । त्यसका लागि नगर अध्यक्ष सुब्बाको संयोजनकारी भुमिका र अन्य नेताहरुको सहयोग मुख्य आधार बन्यो । सुब्बाले एमाले नगर अध्यक्षको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरे ।
हिजो काँग्रेस नगर सभापतीको जिम्मेवारी निर्वाह गर्दै गर्दाको अवस्थामा पनि निष्पक्ष ढंगले सामाजिक काम गरेका पौडेललाई अब नीतिगत तहबाटै काम गर्ने अवसर मिलेको छ । कार्यपालिकामा दुई तिहाइ एमाले सदस्यहरु भएपछि हरेक महत्वपूर्ण निर्णयहरु एमाले र काँग्रेसको सहमतीका आधारमा गर्नुपर्ने हुन्छ । तथापी एमाले र काँग्रेस दुवैले मिलेर काम गर्नु भनेर इटहरीवासीले दिएको जनादेश अनि मतादेशले समग्र इटहरीको विकास गर्यो भने मात्र दुवै दलहरु सफल हुनेछन् । नतिजा घोषणासँगै राजनीतिक प्रतिष्पर्धा सकियो । अब सबै मिलेर इटहरीका समस्या, चुनौतिहरुसँग प्रतिष्पर्धा गरेर इटहरीलाई जिताउनुपर्छ ।