इटहरी । इटहरीको मेयर, उपमेयर को होला अनि वडाहरुमा कसको वर्चस्व होला भन्ने विषय यतिखेर इटहरीवासीको लागि चासोको विषय बनेको छ । निर्वाचनको लागि दुई दिन समय बाँकी हुँदा अन्तीम अड्कलबाजी लगाउन थालिएको छ । इटहरीको मेयरको लागि एमालेबाट याम सुब्बा र गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका हेमकर्ण पौडेल मैदानमा छन् भने उपमेयरको लागि एमालेबाट संगीता चौधरी र गठबन्धनको तर्फबाट नेकपा समाजवादीका केशव विष्ट भिडिरहेका छन् ।
खासगरी एमालेले भन्ने गरेको आफ्नो किल्ला अनि त्यो किल्ला भत्काउने नेपाली काँग्रेसको अभिष्टमध्ये कसको पल्ला भारी हुन्छ, ठ्याक्कै भन्न सकिने अवस्था छैन । किनकी पार्टीको संगठित वा क्रियाशील सदस्यता संख्या अनि दलहरुले अघिल्लो चुनावमा पाएको भोटको अंककै आधारमा अनुमान गर्न गाह्रो छ । त्यसको लागि यी दुवै दलका उम्मेदवारहरुबिचको पार्टीको अन्तरकलहको स्तरलाई विचार गर्नुपर्ने हुन्छ ।
एमाले : संकटको डरले पुरिएको मतभेद
ढिलै भएपनि नेकपा एमालेभित्रका नेताहरुको मतभेद पुरिएको छ । मेयर पदका आकांक्षी नेताहरुको तीव्र असन्तुष्टी पुरै साम्य भएको त छैन, तर धेरै हदसम्म मत्थर भएको छ ।
खासगरी मेयरको टिकट नपाएपछि वर्तमान मेयर द्वारिकलाल चौधरीको भुमिका चुनावमा कस्तो हुन्छ भन्ने अन्योल थियो । सुरुमा त उनी कार्यक्रमहरुमा खासै गएनन् । वक्तव्य पनि दिएनन् । तर विस्तारै उनले सामाजिक सञ्जालबाट पौडेल र नेपाली काँग्रेसको आलोचना गर्न थाले ।
त्यसपछि इटहरीका अन्य एमाले नेताहरुसँग यौटै मन्चमा उभिएर हात मिलाउँदै चुनावमा एकजुट भएर जाने र काँग्रेसको चक्रव्युह तोड्ने भाषण गरे । त्यो कार्यक्रम र भाषणले एमालेभित्रको मतभेद सकिएको र सबै चुनावमा एकजुट भएर जाने घोषणा गरेको सन्देश कार्यकर्ताहरुमा पुग्यो, जसले कार्यकर्ताहरु निकै उत्साहित भए ।
अघिल्लो पटकको स्थानीय तहको निर्वाचनमा राम्रै अन्तरघात भएको थियो । तर यो पटक एमालेभित्रको अन्तरविरोध सतहमा देखिने अवस्थामा छैन । त्यसका तीन कारण छन् ।
एमालेमा पार्टीको निर्णय, विधि तथा पद्धती पालना गर्न गरिएको कडिकडाउ, सांसदको टिकट लिन पहिले स्थानीय तह जिताएर आउन पार्टी अध्यक्ष केपी ओलीले गरेको उर्दी अनि यो पटक नेपाली काँग्रेसले जितेमा आउँदो केही वर्ष एमाले उठ्नै नसकिने गरी पछारिने यथार्थका आधारमा पनि एमाले नेताहरु अन्तरविरोधलाई सामसुम पार्न बाध्य छन् । ‘पार्टी नै सकिए राजनीति नहुने’ भन्दै उम्मेदवारलाई जिताउन लागिपरेका छन् । तथापी अझै पनि सबै नेताले खुलेर मेरो पार्टीको चुनाव हो भनेर नलागेको चर्चा चलेको छ ।
यस्ता विविध कारणले एमालेको पार्टी संगठनलाई गतिशिल बनाउने शालिन र अनुशासित सुब्बालाई मेयर जित्न सजिलो छैन । यस्तै काँग्रेस समर्थकहरुले ‘बाहुन क्षेत्री चाहिँ मेयर हुन नहुने ?’ भनेर जातीय सेन्टिमेन्ट क्यास गर्न लागिपरेपछि सुब्बासामु केही चुनौति देखिएको छ ।
यसबाहेक इटहरीको मेयर बन्नको लागि सुब्बासामु निम्न चुनौतिहरु छन् :-
– एमाले नेतृत्वको इटहरी सरकारले विगतमा गरेका केही कमीकमजोरीबाट उत्पन्न आलोचना
– माओवादी, समाजवादी, जसपाहरुको मतसमेत थपिएको नेपाली काँग्रेसको जनमत (अन्तर्घात र असहयोगबाहेक)
– नेपाली काँग्रेसको सुधारिएको संगठन संरचना
– तुलनात्मक रुपमा अन्तरपार्टी मतदाता बढी आकर्षित गर्ने पौडेलको व्यक्तिगत प्रभाव
– एमालेको विरासत ध्वस्त पार्ने काँग्रेस सपना
काँग्रेस : गठबन्धनको कारण झनै जटिल
हेमकर्ण पौडेल याम सुब्बा भन्दा बढी विपरीत पार्टीका मतदातालाईसमेत आकर्षित गर्ने उम्मेदवार हुन् । लामो समयदेखि विविध समस्यामा परेका नगरवासी र युवाहरुलाई उनले गर्दै आएको सहयोग अनि भाषणकला उनको सबल पक्ष हो ।
व्यक्तिगत प्रभावका कारण राम्रै व्यक्तिगत मत बनाएका पौडेल पार्टी संगठनसँगको सहकार्यमा भने चुकेका छन् । उनले आफ्नो लागि मात्र भोट मागेको खबरपछि कतिपय वडाध्यक्ष, सदस्य र उनकै गठबन्धनबाट उपमेयर उम्मेदवार केशव विष्टलाईसमेत चिसो पसेको छ ।
नेपाली काँग्रेसको शक्ति प्रदर्शन भनिएको रामनारायण बिडारी, विश्वप्रकाश शर्मा र झलनाथ खनाल सहभागि कार्यक्रममा कार्यकर्ताको न्युन सहभागिता अन्तरविरोधकै कारण भएको अनुमान गरिएको छ ।
यता गठबन्धन दलहरुबिचमै पनि अविश्वासको वातावरण बनेको छ । पौडेलले पछि मेयर निर्वाचित भइहालेमा काम गर्न सजिलोका लागि उपमेयरमा विष्टभन्दा चौधरी नै आए हुन्थ्यो भन्ने मनशाय राखेको भन्ने हल्ला समेत कार्यकर्ताका साथै एमालेमा पनि गाईगुई चलेको छ । त्यसले पौडेलको मेयर सपनालाई पछिल्लो समय केही जटिल बनाएको छ ।
तर पनि पौडेल एमालेको गढ मानिएका वडा र त्यहाको संयन्त्रलाई आफ्नो पक्षमा पार्न सक्रिय छन् । साथै विभिन्न समूहहरुसंग पनि मत मागिरहेका छन् । कांग्रेसको सबै तहलाई विश्वास दिलाउन खोजिरहेका छन् ।
यसै बिचमा पौडेलले सफाइ पाइसकेको अपहरण मुद्धाका पीडित भनिएका दुर्गा अधिकारीले एक अन्तर्वार्तामार्फत् उक्त घटनालाई पुनः कोट्याएका छन् । तर अदालतले नै सफाई दिइसकेको र पुनरावेदन पनि खारेज भएकोले उक्त घटना वा प्रसंगले उनलाई खासै असर भने गर्ने देखिँदैन । बरु काँग्रेस भित्रकै अन्तरविरोध मुख्य समस्या देखिन्छ । हेमकर्ण पौडेल मेयर भएमा सिंगो पार्टीमा अझै धेरै हावी हुने भन्ने पार्टीका अन्य नेताको डर र चासो पनि मुख्य कारक हो ।
त्यसैले हेमकर्ण पौडेललाई पाँच दलिय गठबन्धनको साथ हुँदा हुँदै अनि राम्रो व्यक्तिगत लोकप्रिय मत हुँदा हुँदै पनि चुनाव जित्न सजिलो छैन । त्यसो त एमाले र माओवादी पछि मिल्ने आशामा एमालेमा भोट हाल्छु भन्नेको संख्या पनि कम छैन । यस्तोमा नेतृत्व परिवर्तनको नारा अघि सारेको काँग्रेसको एमाले किल्ला भत्काउने अभियान संघर्षपूर्ण देखिन्छ ।
यसबाहेक इटहरीको मेयर बन्न पौडेलसामु निम्न चुनौति छन् :-
– एमालेको निरन्तर जितको श्रृंखला र मजबुत संगठन
– एमाले नेतृत्वको पाँच वर्षे कार्यकालमा सडक सञ्जाल विस्तारबाट खुसी गाउँका नगरवासी
– पाँच वर्ष पहिलेकोभन्दा मजबुत एमाले (संख्यात्मक हिसाबलाई बिर्सँदा)
– गठबन्धनका कारण असन्तुष्ट काँग्रेस र अन्य दलहरुको अविश्वास र अन्तर्घात
– गठबन्धनको जटिल मतदान प्रक्रियाका कारण मत बदर हुने सम्भावना
यी र यस्ता चुनौति र समस्याहरुलाई पार लाउन जुन उम्मेदवारले सक्छन्, इटहरीको भविष्य कोर्ने पाँच वर्षे मेयरको कुर्सी उसैले कब्जा गर्ने अवस्था छ । दुवै उम्मेदवारलाई न्युजलय टिमको शुभकामना ।
(अघिल्ला निर्वाचनहरुमा पाएको मतका आधारमा हामीले इटहरीको मुख्य दुई ठूला पार्टीका उम्मेदवारको मात्र तुलना गरेका हौं ।)