जङ्गली च्याउ खाँदा दुई जनाको मृत्यु

न्युजलय ३ जेठ २०८३, आइतबार ०२:२१ मा प्रकाशित

चितवन । जङ्गली च्याउ खाँदा इच्छाकामना गाउँपालिका–१ कुलबाङगका दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ९ वर्षीया नमुना चेपाङ र ११ वर्षीय सञ्जय चेपाङ रहेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार नमुनाको जेठ १ गते मृत्यु भएको हो भने सञ्जयको शनिबार राति उपचारका क्रममा मृत्यु भएको हो ।

वैशाख २९ गते श्यामबहादुर चेपाङको पाँच जना परिवारले जङ्गली च्याउ खाएका थिए । जसमध्ये तीन जना जेठ १ गते बिरामी परी उपचारका लागि भरतपुर अस्पताल ल्याइएको हो ।

उपचारका क्रममा नमुनाको मृत्यु भएको थियो । १३ वर्षीया मनिता चेपाङको अहिले भरतपुर अस्पतालमा उपचार भइरहेको छ । बिरामी मनिताको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।