बराहक्षेत्रको बजेट १ अर्ब ६ लाख, धार्मिक सर्किट बनाइने

न्युजलय ९ असार २०८२, सोमबार ०४:३५ मा प्रकाशित

बराहक्षेत्र । वराहक्षेत्र नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब ६ लाख ९५ हजार ३७५ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। सोमबार सम्पन्न १६औँ नगर सभाबाट उपप्रमुख नन्दकुमारी सुनुवारले बजेट प्रस्तुत गरेकी हुन् ।


नगर प्रमुख रमेश कार्कीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन प्रवर्द्धन र पूर्वाधार विकासमा विशेष जोड दिइएको छ । 


तगरपालिकाले चतरा र नगर अस्पतालमा भौतिक संरचना निर्माण गर्ने, ज्येष्ठ नागरिक र दीर्घरोगीको घरमै पुगेर नियमित स्वास्थ्य परीक्षण गर्ने, संघीय सरकारसँग समन्वय गरी ५० शय्याको सुविधा सम्पन्न नगर अस्पताल निर्माण गर्ने, निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर गर्ने लगायत समेटिएको छ ।


यस्तै विद्यालय सुधारका लागि अन्तर्क्रिया, विद्यालयलाई जङ्क फुड मुक्त बनाउने कार्यक्रमपनि समेटिएको छ । सप्तकोसी र वराह आदर्श क्याम्पसलाई स्नातकोत्तर तहसम्म सञ्चालन गर्न पहल र समन्वय गर्ने समेत घोषणा गरिएको छ ।


यसैगरी धार्मिक पर्यटन प्रवर्द्धन गर्ने, रामधुनी, चतरा, वराहक्षेत्र, सुर्यकुण्ड र धरान मिलाएर धार्मिक पर्यटकीय सर्किट निर्माण गर्ने लक्ष्य राखिएको छ । यस्तै श्रीलङ्का टप्पुमा होमस्टे कार्यक्रम सञ्चालन गर्ने, कोशी किनारमा सन्ध्या आरती सुरु गर्ने योजनासमेत पालिकाको छ । 


पालिकाले अव्यवस्थित बसोबास र भूमिहीन दलितलाई लालपुर्जा वितरणका लागि पहल गर्ने कार्यक्रमसमेत समेटेको छ । पालिकामा भुमिहीनहरुको ठुलो समस्या छ ।

नगर सभाको उद्घाटन समारोहमा सगरमाथा आरोही चन्द्रकला राई, ११ जना जेष्ठ नागरिक, कृषि उद्यमी, करदाता, खेलाडी, पत्रकार र शिक्षकलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो। 


आर्थिक वर्ष ०८२/८३ का लागि नगरपालिकाले ७ करोड ३६ लाख ५१ हजार आन्तरिक आय अनुमान गरेको छ । यस्तै चालु तथा पुँजीगत समेत सशर्त अनुदानबाट ४७ करोड १ लाख र वित्तीय समानिकरण अनुदानबाट १९ करोड ३४ लाख आम्दानी गर्ने लक्ष्य राखेको छ । यस्तै संघबाट विशेष अनुदान ७५ लाख प्राप्त हुने अनुमान गरिएको छ ।

सङ्घबाट हुने राजस्व वाडफाँडमा १५ करोड ९४ लाख ५७ हजार ३ सय ७९ रुपैयाँ,  समपूरक अनुदानबाट ३ करोड ४१ लाख रुपैया, प्रदेशबाट सशर्त अनुदान २ करोड ३० लाख ५६ हजार, राजस्व बाँडफाँडबाट १ करोड ११ लाख ८१ हजार, समपूरक अनुदान १ करोड, वित्तीय समानिकरण अनुदान १ करोड ८२ लाख ५० हजार गरी कुल १ अरब ६ लाख ९५ हजार ३ सय ७९ रुपैयाँ आय अनुमान गरेको छ ।