इटहरी । मोरंगको बुढीगंगा गाउँपालिकाका स्व. शारदाप्रसाद भट्टराईको किरियामा छोरा, छोरी र बुहारीसहित ३० जना बसेका छन् । एक साथ यति धेरै परिवारका सदस्य किरिया बसेको घटना अहिलेको नेपाली समाजका लागि दुर्लभ बनेको छ ।
८९ वर्षको उमेरमा निधन भएका स्वर्गीय भट्टराईका तीन जना श्रीमती छन् । तीन जना श्रीमतीबाट १० छोरा र ८ छोरी जन्मिए । तीमध्ये एक छोरीको निधन भयो । अहिले श्रीमती, छोरा, बुहारी र छोरीसमेत गरी ३० जना किरिया बसेका छन् । बुढीगंगा ४ नेमुवास्थित छोरा गोविन्द भट्टराईको घरमा अन्तीम किरिया कर्म चलिरहेको नाति जीवन भट्टराईले जानकारी दिए ।
स्वर्गीय भट्टराईका नाति नातिना ३० जना छन् । तीमध्ये चार जना नातिना र तीन जना नातिले बिहे गरेका छन् । उनीहरुबाट ७ जना पनाति, पनातिना छन् ।
वि.सं. १९९३ मंसिर १९ गते संखुवासभा मादीमा जन्मेका स्वर्गीय भट्टराईले १९ वर्षको उमेरमा पहिलो विवाह गरेका थिए । त्यसको तीन वर्षपछि २०१५ सालमा अर्को विहे गरे । २०२२ सालमा झापा बसाई सरी आएका उनले वि.सं. २०३४ सालमा ४१ वर्षको उमेरमा तेस्रो विवाह गरेका थिए । वि.सं. २०४६ सालयता भने उनी बुढीगंगा गाउँपालिका वडा नं. ४ मा बस्दै आएका थिए ।