नोबेल अस्पताल विराटनगरकी नर्स लक्ष्मीको हत्या भएको परिवारको दाबी

न्युजलय २१ जेठ २०८२, मङ्गलबार ११:५९ मा प्रकाशित

इटहरी ।   सप्तरीको महादेवा गाउँपालिका–२ की २४ वर्षीया लक्ष्मीकुमारी मण्डलको उनी बस्दै आएको विराटनगरस्थित डेरामा हत्या भएको परिवारजनले दाबी गरेका छन् । 

विराटनगरस्थित नोबेल अस्पतालमा स्टाफ नर्स पदमा कार्यरत उनी अस्पतालनजिकै डेरा लिई बसेको कोठामा जेठ १२ गते मृत अवस्थामा फेला परेकी थिइन् ।

सिलिङ फ्यानमा गम्छा र साडी जोडेर बनाइएको पासो घाँटीमा लगाएर झुन्डिएको अवस्थामा उनलाई प्रहरीले फेला पारेको थियो ।

मृतकका बाबु हनुमान मण्डलले हत्यालाई आत्महत्या देखाउन मारेपछि झुन्ड्याइएको दाबी गरेका छन् । 

छोरी एक्लै भएको मौका छोपी अर्को कोठामा रहेका उनकै साथीहरूमध्ये कोही भेन्टिलेसनबाट छिरेर छोरीलाई मारेर झुन्ड्याइएको उनको दाबी छ । लक्ष्मी बस्ने कोठामा ठूलो भेन्टिलेसन रहेको र एकैपल्ट दुई जनासम्म छिर्ने अवस्था रहेको भन्दै उनले घटनाको सत्यतथ्य छानबिन र दोषीलाई कारबाही हुनुपर्ने माग गरेका छन् ।

न्यायका लागि परिवारजनले सञ्चारकर्मीसँगै मानवअधिकारकर्मी र सप्तरी प्रहरीलाई समेत भेटेर पहल गरिदिन आग्रह गरेका छन् ।

सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले घटनास्थल मोरङ जिल्ला रहेकाले आफूले त्यहाँका प्रहरी अधिकारीसँग समन्वय गरी सत्य तथ्य अनुसन्धानका लागि पहल गर्ने आश्वासन दिएको परिवारजनले जनाएको छ ।