धारिलो हतियार प्रयोग गरी बालिकाको हत्या

न्युजलय १४ साउन २०८२, मङ्गलबार ११:५३ मा प्रकाशित

धनुषा । जनकपुरधाम उपमहानगरपालिका–४ मा धारिलो हतियार प्रहार गरी एक बालिकाको हत्या गरिएको छ भने र दुई जना घाइते भएका छन् ।​ 

कटैयाचौरी भन्ने स्थान नजिक भएको सो घटनामा बटेश्वर गाउँपालिका–५ शान्तिपुरका दिनेश यादवकी १४ वर्षीया छोरी अञ्चली यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अञ्चलीकी आमा ३६ वर्षीया आशा यादव र आशाकी १५ वर्षीया भतिजी राधा यादव घाइते छन् । उनीहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सूर्यनन्द चौधरीको घरमा डेरा गरेर बस्ने धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–९ इच्छापुरका ३५ वर्षीय रामबाबु साहले सोमबार राति ती तीनै जनामाथि खुकुरी प्रहार गरेका थिए ।

आशाको टाउको र शरीरको विभिन्न भागमा घाउ लागेको छ भने राधाको दाहिने घुँडा र दाहिने हात काटिएको छ । अञ्चली जनकपुरमा डेरा गरी आमासँग बसेर पढिरहेकी थिइन् ।

साह आफ्नै श्रीमतीको हत्या अभियोगमा पाँच वर्ष जेल सजाय काटेका व्यक्ति हुन् ।

मधेश प्रदेश प्रहरीका अनुसार घटनाको अनुसन्धान भइरहेको र हत्या अभियुक्तको खोजी भइरहेको छ ।