इटहरी । किरात समुदायको धार्मिक एवं साँस्कृतिक आस्थाको केन्द्र खुवालुङको मुन्दुमी अध्ययन गरिएको छ ।
शुक्रबार किरात अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको आयोजनमा खुवालुङ क्षेत्रमा नाक्छोङ–नछुङ (धामी) राखेर मुन्दुमी अध्ययन गरिएको हो ।
प्रतिष्ठानका अध्यक्ष सदर राईले कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री पाँचकर्ण राईलाई शिरमा सेतो फेटा गुठाएर मुन्दुमी अध्ययन कार्यक्रमको थालनी गरिएको हो । प्रतिष्ठानले विगत देखि नै खुवालुङ सँगै तुवाचुङ र साल्पापोखरी सम्म मानव विकास सम्बन्धि अध्ययन र भौतिक विकासको लागि पहल गरिरहेको छ ।
नछुङको मुन्दुम अनुसार किराती इतिहास पत्ता लगाउने एक मात्र मौखिक ज्ञान प्रणाली मुन्दुम नै रहेको प्रतिष्ठानका उपाध्यक्ष शालिक राईले बताए । उनका अनुसार मुन्दुमी अध्ययनको क्रममा खुवालुङ क्षेत्र हजारौं वर्ष अगाडि आदिम पुर्खौली भुमि रहेको र यही खुवालुङ आसपास क्षेत्र नै किराती बस्तीहरू रहेको मुन्दुममा व्याख्या गरेको पाइएको छ ।
यसअघि सांस्कृतिक इन्जिनियरिङ, भू–गर्वशास्त्रीय दृष्टिकोण, सिभील र आर्किटेक्ट इन्जिनियरिङका लागि खुवालुङ क्षेत्रको स्थलगत अवलोकन सम्पन्न गरिएकाले मुन्दुमी पक्षबाट अध्ययनका लागि प्रतिष्ठानको टोली नाक्छोङ–नछुङ सहित खुवालुङ स्थल पुगेको हो ।