इटहरी । प्रायः शान्त रहने इटहरी उपमहानगरपालिकाकी उपमेयर संगीता चौधरी शुक्रबार निकै आक्रमक देखिइन् । उपमहानगरपालिकाको प्रशासन शाखाका प्रमुख कर्मचारी सञ्जीव खड्काप्रति आक्रामक बनेकी हुन् ।
एमालेबाट निर्वाचित वडाध्यक्षहरुसहित खड्काको कार्यकक्षमा पुगेकी उनी आक्रोशित हुनुको कारण थियो, कर्मचारीको सरुवा अनि सर्भर बन्द ।
मेयर हेमकर्ण पौडेलले केही दिनअघि कर्मचारी सरुवा गरेका थिए । १५ वटा वडाका कर्मचारीहरुलाई बद्नियतपूर्ण तरिकाले सरुवा गरेको र पत्रअनुसार वडामा हाजिर नभएका कर्मचारीहरुले चलाउने आइडी पासवर्ड डिएक्टीभ गरिएको उनको आरोप थियो । सोक्रममा खड्काले कर्मचारीहरुलाई दबाब दिएको र काम रोक्न लगाएको भन्दै उनी रिसाएकी थिइन् ।
उनले खड्कालाई गाली गर्दै 'यहाँबाट निस्किहाल्नुस्, तपाईको काम छैन, कर्मचारी भएर काँग्रेसको राजनीति गर्नुहुन्छ ?' भन्दै हकारेकी थिइन् । 'एमाले निर्वाचित वडाहरुलाई मात्र किन चलाएको ? तपाईको प्राइभेट कम्पनि हो ?' भन्दै उनले आक्रोश व्यक्त गरेकी थिइन् ।
खड्काले भने 'तपाई व्यक्तिले हप्काएको भरमा हुँदैन, कार्यालयको प्रक्रिया हुँदैन ?' भन्दै प्रतिवाद गरेका थिए । आफूले प्रमुख प्रशासकीयको आदेशमा सरुवा कार्यान्वयन मात्र गरेको बताउँदै मेयर र प्रमुख प्रशासकीय अधिकृतसँग कुरा गर्न भनेका थिए ।
मेयरको इशारामा केही कर्मचारीहरुले एमाले जनप्रतिनिधिलाई उपेक्षा गर्ने गरेको, एमाले जनप्रतिनिधि निर्वाचित वडाहरुलाई अनावश्यक नियमन गरेको र त्यहाँको काम प्रभावित पार्ने गरी कर्मचारी चलाएको आरोप कार्यपालिका सदस्य प्रमोद शेर्पा, वडाध्यक्षहरु जितेन थापा, उमेश सुवेदीलगायतले लगाएका थिए । खड्कासँग उनीहरुको राम्रै चर्काचर्की परेको थियो ।
खड्काले प्रमुख प्रशासकीय अधिकृत रामचरित मेहतालाई देखाएपछि जनप्रतिनिधिहरुले मेहतालाई फोन गरेका थिए । मेहताले भने आफूले आइडी डिएक्टीभ गर्न नभनेको र त्यस्तो गरेको भए आफूले खोल्न निर्देशन दिने जनाएका थिए । त्यसपछि उनले तत्काल निर्देशन दिएका थिए । प्रमुख प्रशासकीयको निर्देशनपछि आइडी एक्टिभ गरिएको आइटी शाखाका कर्मचारी सन्दीप बाँस्तोलाले जानकारी दिए ।
आइडी डिएक्टीभ हुँदा वडाहरुको प्रशासकीय कामकारवाही रोकिएको वडाध्यक्ष प्रभात आचार्यले बताए । कर्मचारीलाई सरुवा कार्यान्वयन गर्ने बहानामा सर्वसाधारण जनताको काम अड्काइएको उनको आरोप थियो, 'एउटा कर्मचारीले नगर भरीका जनतालाई बन्धक बनाउने काम गरेको हो । यो पागलपनको हद हो ।'
आइडी एक्टिभ गराएर फर्किएका जनप्रतिनिधिहरुले खड्कालाई कार्यकक्षबाट निकालेर ताला लगाएका थिए ।
केही दिनअघि मात्र पनि मेयर पौडेल नभएको अवस्थामा उपमेयर चौधरीले कार्यपालिका बैठक बसाएकी थिइन् । त्यतीबेला पनि कर्मचारीहरु नआएको थापाको आरोप थियो ।
बोलाउँदा आउँछु भनेको, तर कार्यपालिका बैठकमा नआएको उनको आरोप थियो । कर्मचारी नआएपछि प्रमुख प्रशासकीय अधिकृत मेहता र खड्कालाई कारवाही गर्न कार्यपालिका बैठकले सिफारिस गरेको थियो ।
त्यसभन्दा अघिल्लो पटक मेयर पौडेलले बोलाएको कार्यपालिका बैठकको माइन्युट नदिएकोमा पनि कार्यपालिका सदस्यहरु आक्रोशित थिए । वडाध्यक्षहरु थापा र सुवेदीले त्यही बेला प्रतिवाद गरेका थिए । मेहता र खड्काले मेयरको इशारामा माइन्युट लुकाएको र अन्य सदस्यले माग्दा नदिएको वडाध्यक्षहरुको आरोप छ ।