चेकजाँचका क्रममा भागेको कार दुर्घटना, ४२१ किलो गाँजा बरामद

न्युजलय १७ बैशाख २०८२, बुधबार ११:४२ मा प्रकाशित

धनकुटा । धनकुटाबाट सशस्त्र प्रहरी बलले गाँजासहित एउटा कार नियन्त्रणमा लिएको छ ।

बुधबार बिहान साँगुरीगढी गाउँपालिका–६ मा धनकुटाबाट धरानतर्फ जाँदै गरेको कारलाई सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन वेश मुलघाटको चेक प्वाइन्ट डिउटीले शङ्का लागि चेकजाँच गर्न  खोज्दा भागेको थियो । 

को २ प १७३४ नम्बरको कार भागेपछि  पिछा गर्दैगर्दा उक्त कार गति अनियन्त्रित भई भित्तामा ठोक्किएर दुर्घटना भएको सशस्त्र प्रहरीले जनाएको छ । 

दुर्घटनापछि चालक फरार भएको अवस्थामा नियन्त्रणमा लिइएको कारबाट १२ वटा पोकामा प्याक गरिएको ४ सय २१ किलो गाँजा फेला परेको सशस्त्र प्रहरीले जानकारी दिएको छ । 

कार र बरामद गाँजा थप कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको प्रहरीले जनाएको छ ।