इटहरी । इटहरीको सेन्ट्रल प्लाजामा गत चैत १३ गते भएको आगलागीमा १५ करोड बढीको क्षती भएको सञ्चालकले जानकारी दिएका छन् । आगलागीको एक महिनापछि उसले क्षतीको प्रारम्भिक विवरण दिएको हो ।
आगलागीलगत्तै क्षतीको विवरण सार्वजनिक नभएको भन्दै टिप्पणीहरु सञ्चारमाध्यममा आएपछि प्लाजाले कारण स्पष्ट पार्दै तत्काल क्षतीको विवरण यकिन नभएकोले आगलागीलगत्तै जानकारी दिन नसकिएको स्पष्ट पारेको छ । प्लाजा सञ्चालक संस्था श्रेष्ठ इन्टरटेन्टमेन्ट एण्ड हस्पिटालिटी प्रालिका प्रबन्ध निर्देशक सिद्धार्थ श्रेष्ठद्वारा जारी विज्ञप्तीमा लामो विवरणसहित स्पष्ट पारिएको छ ।
‘क्षतीको कुरा सम्बन्धित सर्वेयर, इन्जिनियर र विज्ञहरुको टोलीले जाँचेपछि मात्र यकिन हुन्छ, हतारमा अन्दाजीको भरमा दिइएको विवरण गलत पनि हुन सक्छ,’ पूर्ण प्रतिवेदन आउन बाँकी रहेपनि १५ करोडको क्षती भएको उल्लेख गर्दै विज्ञप्तीमा भनिएको छ, ‘भवन निर्माणमा प्रयोग भएका सामाग्रीहरु, त्यहाँ जलेर खरानी भएका सामानहरुको विवरण संकलन गर्ने र त्यसको मूल्यांकन गर्ने क्रम जारी छ ।’
कोभिड र त्यसपछिको आर्थिक मन्दिका बिचबाट जसोतसो तंग्रिदै गरेको व्यापार व्यवशायलाई आगलागीले धक्का दिएको उल्लेख गर्दै क्षतीको पुर्ण विवरण संकलन भइसकेपछि पुनर्निर्माण थालिने श्रेष्ठले जनाएका छन् ।
आफैले आगो लगाएको भन्ने हल्लाको खण्डन गर्दै बैंकको ऋण लिएपछि बैंकको नियमअनुसार अनिवार्य बीमा गरिएको र नियमानुसार क्षतीको विवरण संकलन भएको बताउँदै आफ्नो सम्पत्तीमा आगो लगाउने क्ुराको कल्पना पनि गर्न नसकिने जनाइएको छ । ‘अझ आगो लागेको हो कि लगाईएको हो भन्ने कुरा त सम्बन्धित निकायको अनुसन्धानले पत्ता लगाउने कुरा हुन् । हामीले सो समयमा उपस्थित सबै कर्मचारीहरुको विवरण प्रशासनलाई उपलब्ध गराएका छौं,’ विज्ञप्तीमा भनिएको छ ।
आगो लागेको देख्ने बित्तिकै स्टाफ तथा गार्डहरुले आफ्नै फायर फाइटिङ सिस्टमबाट निभाउने प्रयास गरेको र पछि दमकल तथा सुरक्षा निकायहरुको अथक प्रयासबाट आगो निभाइएको उल्लेख गरिएको छ । सबैले सक्दो सहयोग गरेको
सेन्ट्रल प्लाजाको पाँचौ तलामा रहेको मुख्य कार्यालयमा आगो लागेको र बिहान सफाइ मजदुरले थाहा पाएको उल्लेख गरिएको छ । मुख्य कार्यालय १० बजेमात्र खुल्ने गरेकोले कर्मचारी नभएको समयमा आगो लागेको बताइएको छ ।
यस्तै सो दिन दर्शक कम भएर सिनेमाको शो क्यान्सिल भएकोले फिल्म हलमा दर्शक नभएको तर अन्य कर्मचारीहरु भने कार्यरत रहेको विज्ञप्तीमार्फत् जानकारी दिइएको छ ।
आगलागीले पाँचौं तला र त्यसमाथि तथा तलका तलाहरुमा क्षती भएको बताइएको छ । ‘पाँचँै तला जलेर नष्ट भएको छ भने त्यसभन्दा माथिका तलाहरुमा तापक्रम र धुवाँले क्षती गरेको छ । त्योभन्दा मुनीका तलाहरुमा पानीको फोहोराले क्षती पुर्याएको छ । यस्तै आगलागी नियन्त्रणका क्रममा विभिन्न ठाउँमा तोडफोड गर्नुपर्ने बाध्यताले थप क्षती भएको छ।’ विज्ञप्तीमा भनिएको छ ।
साथै घरको सबै तलाको र फलामको भ¥याङसमेतको नक्सापास रहेको जनाएको छ । २०७५/२/७ गते ९५ हजार १२५ स्क्वायर फिटको नक्सापास गरेको विज्ञप्तीमा छ । नगरपालिकाले नक्सापासको कागजात कहिल्यै नमागेको भन्दै मागेको भए त्यसको आधार पुष्टी गर्न भनेको छ ।
आगलागीपछि भवनको तेस्रो तलासम्मका पसलहरु सञ्चालनमा आइसकेका छन् भने पाँचौ तलामा रहेको क्युएफएक्स सिनेफ्लिक्स हल र छैठौं तलादेखि नवौं तलासम्म रहेको वरण्डा होटल पुनर्निर्माणपछि मात्र सञ्चालनमा आउने जनाइएको छ ।