मोरङ र इलाममा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते

न्युजलय ३ असार २०८२, मङ्गलबार ११:२१ मा प्रकाशित

इटहरी । इलाम र मोरङमा भएको दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

मोरङको ग्रामथान गाउँपालिका–५ तेतरीया स्थित घिनाघाट सडकखण्डमा को ३३ प ६८१६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा पछाडि सवार २२ वर्षीय सुरज सरदारको उपचारको क्रममा विराट नर्सिङ होम विराटनगरमा मृत्यु भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक सोही स्थानका २० वर्षीय दिवेश सरदार र अर्का सवार १९ वर्षीय राजु उरावँ घाइते छन्। उनीहरूको हाल सोही अस्पतालमा उपचार भइरहेको छ ।

त्यसैगरी, इलाम नगरपालिका–११ स्थित सडक खण्डमा बिर्तामोडबाट मंगलबारेतर्फ किराना सामान बोकेर जाँदै गरेको प्र १–०१–००१ प ९७७८ नम्बरको पिकअप गाडी अनियन्त्रित भई करिब १५० मिटर तल खस्दा एकजनाको ज्यान गएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका झापाको खुदुनाबारी घर भई हाल इलामको देउमाई नगरपालिका–९ नवमी बजारमा व्यवसाय गर्दै आएका ३८ वर्षीय विष्णु पराजुलीको उपचारको क्रममा प्रादेशिक अस्पताल, भद्रपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा पराजुलीकी ८ वर्षीया छोरी प्रेयन्सा पराजुली र पिकअप चालक इलाम देउमाई–९ जितपुरका २२ वर्षीय आइतबहादुर लिम्बु घाइते भएका छन्। उनीहरूको बीएण्डसी अस्पताल, बिर्तामोडमा उपचार भइरहेको छ।

दुवै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।