युद्धग्रस्त इजराइलबाट फर्केका विराटनगरका मेयरको प्रतिक्रिया, 'बाँचेर आइयो'

न्युजलय ६ असार २०८२, शुक्रबार ०८:४२ मा प्रकाशित

विराटनगर । इजरायल र इरानबिच युद्ध सुरु हुँदा इजरायलमा थिए विराटनगरका मेयर नागेश कोइराला । सहकारी, कृषि र सहरी व्यवस्थापनको इसराइली मोडलबारे अध्ययन भ्रमणका लागि उनी जेठ २६ गते इजरायल पुगेका थिए । उनी त्यहाँ पुगेको चौथो दिनमा इजरायलले इरानमाथि आक्रमण गर्यो र इजरायलमा आपतकाल लागु गर्यो ।


त्यसको प्रत्युत्तरमा इरानले पनि इजरायलमाथि बम र मिसाइल प्रहार गर्यो । विस्तारै सडक र सार्वजनिक स्थलमा मानिसहरु देखिन छाडे । सबै बंकरमा लुके । उनीहरुसँगै मेयर कोइराला पनि पाँच दिन बंकरमा बसे । उनले त्रासदीपूर्ण समय बिताए । 


ती दिन तनावयुक्त रहेको सुनाए । भने, आकाशमा मिसाइलहरु देखेँ, अनि विष्फोटका आवाज । मलाई जति बेलै पनि अब मरिने भयो भन्ने लाग्थ्यो । 


दूतावासको सक्रियतापछि उनी जोर्डन हुँदै नेपाल आएका छन् । 


युद्ध सुरु भएपछि मोबाइलमा सफ्टवेयर इन्स्टल गर्न लगाइएको उनले बताए । त्यहाँ मिसाइल आउने समयसहितको नोटिफिकेशन आउने गरेको उनले जानकारी दिए । सहरै थर्काउने गरी साइरन बजेपछि ९० सेकेण्डभित्र बंकरमा पुग्नुपर्ने रहेछ । पछि बनेका घर, पसल, सडकहरुमा बंकर अनिवार्य भएको उनले जानकारी दिए । बंकरबाट निस्कनको लागि पनि मोबाइल सन्देश पर्खनुपथ्र्यो । 


इजरायलीहरु भने यसलाई सामान्य रुपमा लिने उनको अनुभव थियो । कोइरालाले त्यहाँको बंकर पनि सुविधासम्पन्न होटलजस्तै हुने गरेको सुनाए ।


उनी बुधबार बिहान बसबाट जोर्डन पुगेका थिए । जोर्डनको राजधानीबाट जहाजमा कुवेत र कुवेतबाट भारत हुँदै बिहीबार काठमाडौं आइपुगेका थिए ।