इटहरी । इटहरी खानेपानीले इटहरीको पुनर्निर्माणका लागि कोष बनाउन इटहरी सरकारलाई आग्रह गरेको छ । सो कोषका लागि संस्थाले २० लाख रुपैया दिने प्रतिबद्धतासमेत जनाएको छ ।
एक विज्ञप्ती जारी गर्दै संस्थाले विभिन्न पक्ष सहभागि गरेर इटहरी पुनर्निर्माण समिति र पुनर्निर्माण कोष बनाउन आग्रह गरेको हो । कोषको लागि देश तथा विदेशबाट सहयोग संकलन गर्ने र उक्त रकमबाट इटहरीमा ध्वस्त भएका सार्वजनिक संरचना बनाउन सहयोग गर्ने प्रस्ताव गरिएको हो ।
संस्थाले इटहरी प्रहरी र ट्राफिक प्रहरीको भवन पुनर्निर्माणका लागि ५–५ लाख रुपैया दिने र १० लाख रुपैया कोषका लागि दिने घोषणा गरेको छ । दुवै कार्यालयहरु आगजनीमा परि ध्वस्त भएका छन् । पुरानो भवनमा सञ्चालनमा रहेको इलाका प्रहरी कार्यालय इटहरीमा पुरै क्षती पुगेको छ भने ट्राफिक प्रहरी कार्यालयको भवनमा समेत क्षती पुगेको छ । केही प्रहरीहरु तरहरा चौकीमा आश्रय लिएर बसेका छन् ।
यता नागरिक समाज इटहरीले सर्वपक्षीय छलफल आयोजना गरेको छ । छलफलका क्रममा इटहरीको शान्ती सुव्यवस्थालाई लिएर सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका थिए । प्रहरी कार्यालय नभएको, नजिकैको झुम्का कारागारबाट हजार बढी कदी निस्केको, भारतबाट आएका चोरहरुको पनि गतिविधि बढेको भन्दै उनीहरुले सुरक्षा व्वस्थाका लागि पहल गर्नुपर्नेमा जोड दिएका थिए ।
अहिले जलेको प्रहरी कार्यालय भवनभन्दा बाहेकका स्थानमा प्रहरी कार्यालय स्थापना गर्नका लागि पहल गर्ने निर्णय भेलाले गरेको छ ।