उदयपुरमा ट्रक दुर्घटना हुँदा वृद्धको मृत्यु

न्युजलय २१ साउन २०८२, मङ्गलबार १२:०६ मा प्रकाशित

उदयपुर । उदयपुरगढी गाउँपालिका–७ स्थित मदन भण्डारी लोकमार्गमा ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ भने ट्रकका सहचालक गम्भीर घाइते भएका छन्।

सोमबार काठमाडौँबाट सुनसरीतर्फ आउँदै गरेको प्रदेश ३–०१–००६ ख ०५६१ नम्बरको ट्रकले पैदलयात्रीलाई ठक्कर दिएको थियो।

ठक्करबाट रौतामाई गाउँपालिका–७ का ७२ वर्षीय टङ्कबहादुर लामिछाने मगरको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनाका कारण ट्रक अनियन्त्रित भई पल्टिएको र सोही क्रममा ट्रकका सहचालक दोलखा कालिन्चोक गाउँपालिका–४ का ४० वर्षीय गोमे दर्जीको दाहिने खुट्टामा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।

घाइते दर्जीलाई उपचारका लागि तत्काल जिल्ला अस्पताल उदयपुर पठाइएको छ।

दुर्घटनापछि ट्रक चालक काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१४ का ५४ वर्षीय नवराज राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।