झापा । झापाको सुरुङ्गामा ग्यास सिलिन्डर चुहावट भएर आगलागी हुँदा वृद्धा घाइते भएकी छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार कनकाई नगरपालिका– ३ सुरुङ्गास्थित ध्रुव श्रेष्ठको घरमा आगलागी हुँदा सोही घरमा डेरा गरी बस्ने ८१ वर्षीया बाटुलीमाया दाहाल घाइते भएकी हुन् ।
दाहालले खाना पकाउने क्रममा ग्यास चुहावट हुँदा आगलागी भएको थियो । उनको शरीरको विभिन्न अङ्ग जलेको प्रहरीले जनाएको छ ।
स्थानीयवासी र इलाका प्रहरी कार्यालय सुरुङ्गाको प्रहरी टोलीले उनको तत्काल उद्धार गरी कनकाई नगर अस्पताल उपचारार्थ पुर्याए पनि त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि उनलाई बिर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज लगेको प्रहरीले जनाएको छ ।
आगलागीका कारण कोठाभित्र रहेका अन्नपात र लत्ताकपडा सहित अन्य सरसामान जलेर पूर्णरुपमा नष्ट भएको छ ।प्रहरी, स्थानीयवासी र बरुणयन्त्रको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको छ ।