इटहरी । बुढीगङ्गा जमुना मुक्तिघाट क्षेत्रमा निर्माण गरिएको चेकड्याम बाढीले भत्काउन थालेपछि बृहत्तर मुक्तिधाम क्षेत्र विकास समितिका अध्यक्ष हेम घिमिरेले धेरैतिर गुहारे l दाताहरुबाट सानो सानो रकम जुटाएर बनाइएको मुक्तिघाट नै भत्कने अवस्थामा पुगेपछि उनले सरोकारवाला निकायहरुसँग सहयोग मागे, तर कसैले वास्ता गरेनन् ।
‘सरकारी कार्यालयदेखि सांसद, मन्त्रीसम्मलाई भन्दा पनि कसैले बजेट नभएको बताए, कसैले असार मसान्त लाग्न आँटेको भने,’ घिमिरेले भने, ‘कसैले हेर्न आउने वचन दिए, तर आएनन् भने कतिले त दोहोर्याएर फोन पनि उठाएनन् ।’
त्यस्तैमा घिमिरेले काकरभिट्टा–लौकही सडक आयोजनाका प्रमुख जगत प्रजापतिलाई फोन गरे । फोन गरेलगत्तै चासो लिएका उनले सिट पाइलिङ गराएर तत्कालका लागि ठूलो क्षती टारिदिएका छन् ।
ड्याम भत्किएसँगै खोला गहिरिँदै गएका कारण घाटमै क्षति पुग्ने खतरा बढेको थियो । घाटमा क्षती पुगेको भए घाट बनाउन फेरी अर्को रकम जुटाउनुपर्ने बाध्यता हुन्थ्यो । तर आयोजनाले तत्काललाई घाट जोगाइदिएर राजमार्ग तथा पुल विस्तारपछि पक्की संरचना बनाउनको लागि माथिल्लो निकायमा प्रस्ताव अगाडि बढाएको छ ।
‘आयोजना र खासगरी प्रमुखज्यूको तदारुकताले गर्दा ठूलो जोखिम टरेको छ,’ घिमिरेले भने ।