झापामा बन्दकर्ता र प्रहरीबीच झडप, पुर्वबाट १० जना पक्राउ

न्युजलय २० माघ २०८१, आइतबार ०६:३२ मा प्रकाशित

झापा । झापाको दमकमा बन्दकर्ता र प्रहरीबीच झडप भएको छ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा ‘नो केबलकार’ भन्दै आन्दोलनमा उत्रिएका बन्दकर्ताले प्रदर्शनकारी पक्राउ गरेपछि झडप भएको हो । 


पूर्वपश्चिम राजमार्ग अन्तर्गत दमक–६ स्थित गणतन्त्र चोकमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनको नेतृत्वमा करिब सय जनाले टायर बालेर सडक अवरोध गर्न खोजेका थिए ।


ढुंगा प्रहारबाट मे १ च ५१६१ नम्बरको स्कोरपियोसहित केही सवारी साधनमा क्षति पुगेको छ । इलाका प्रहरी कार्यालय दमकले त्यसपछि केही बन्दकर्ताहरुलाई पक्राउ गरेपछि स्थिति तनावग्रस्त बन्यो र दुवै पक्षबीच झडप भएको थियो । प्रहरीले तीन सेल अश्रुग्यास प्रहार गरेको छ ।


यता सडकमा यातायात अवरोध गर्दै हिँडेका तीन जना र गाडीमा तोडफोड गर्ने थप एक जना गरी चार जना पक्राउ गरेको झापा प्रहरीले जनाएको छ । त्यस्तै धरानबाट ६ जना बन्दकर्ता पक्राउ परेका छन् । 


इटहरीमा भने प्रहरीले प्रदर्शनकारीलाई घेरा हालेर खुम्च्याएको थियो । बिहान चोकको चारैतर्फ फैलिएर यातायात अवरुद्ध गरेका प्रदर्शनकारीहरुलाई प्रहरीको संख्या बढाएर चोकमा घेरा हालेर नियन्त्रण गरिएको थियो । त्यसपछि इटहरीमा यातायात निर्वाध सञ्चालन हुन सकेको थियो । प्रदर्शनकारीले भने चोकमा खाना खाएका थिए ।