विराटनगर । कोशी प्रदेशमा ट्रान्सफर्मर चोरीमा संलग्न १२ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार माघ १५ यता मोरङमा ८, सुनसरीमा १२ र झापामा २ वटा गरी २२ वटा ट्रान्सफर्मर चोरी भएका थिए ।
तीमध्ये ७ जना प्रत्यक्ष चोरीमा संलग्न छन् भने ५ जना चोरीको सामान खरिद गर्ने हुन् ।
पक्राउ पर्नेहरूमा सुनसरी दुहबीका अनुज विश्वास र प्रयाग कुमार खाँ, मोरङ बेलबारीका अर्जुन चौधरी र रञ्जित तामाङ, मोरङ ग्रामथानका अर्जुनकुमार माझी र इरज धामी तथा भारत घर भई दुहबीमा बसोबास गर्दै आएका आलम मिया छन् ।
चोरीका ट्रान्सफर्मर खरिद गर्नेहरूमा विराटनगरका लक्ष्य प्रधान र कृष्णगोपाल ताम्राकार, दुहबीका योगेश अग्रवाल, कपिल भट्ट, र इटहरीका सिताराम राई छन् ।
गिरोहले कुल २ करोड रुपैयाँ बराबरका ट्रान्सफर्मर चोरी गरेको प्रहरीको भनाइ छ । चोरीमा प्रयोग भएका औजारसहित ६ वटा मोटरसाइकल पनि बरामद गरिएको छ ।
साउन ९ गते मोरङको रंगेली नगरपालिका–९ मा चोरी प्रयासका क्रममा अर्जुनकुमार थारु पक्राउ परेपछि गिरोहको सुराकी लागेको प्रहरीको भनाइ छ । अनुसन्धानका लागि प्रदेश र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोली खटिएको थियो ।