मलद्वारमा लुकाएर लागुऔषध ओसारपसार गर्ने पाँचजना पक्राउ

न्युजलय २० असार २०८२, शुक्रबार १२:१६ मा प्रकाशित

धरान । प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित सुनसरी प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । 

भारतको बिरपुरबाट लागुऔषध खरिद गरि सुनसरीतर्फ आउँदै गरेका उनीहरूलाई कोशी गाउँपालिका–१ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ । 

बिहीबार राति लौकही स्थित भन्सार गेट अगाडि सडक खण्डमा लागुऔषध ओसारपसार हुँदैछ भन्ने विशेष सूचनाको आधारमा अनुसन्धानका क्रममा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

को. ३८ प. ७९६० नम्बरको स्कुटरमा सवार धरान उप–महानगरपालिका– १७ बस्ने २३ वर्षीय मनिष लिम्बू र सोही मोटरसाइकलमा पछाडि सवार धरान– ११ बस्ने १९ वर्षीय मनिष राईलाई  ५.९४ ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको बताइएको छ । 

चालक मनिषले मलद्वारमा च्यापी ल्याएको अवस्थामा उक्त ब्राउन सुगर बरामद गरिएको बताइएको छ । त्यस्तै भारतबाट पैदल आउँदै गरेको सुनसरीको कोशी गाउँपालिका–४ बस्ने  २४ वर्षीय सम्साद मिया पनि लागुऔषधसहित पक्राउ परेका छन्।

सुनसरीको इनरुवा नगरपालिका –४ बस्ने २० वर्षीय शिवदेव खत्वे र २० वर्षीय नितेश स्वर्णकारमध्ये शिवदेवको साथबाट  २ सय ५० मिलिग्राम लागुऔषध ब्राउन सुगर  बरामद गरिएको प्रहरीले जनाएको छ । 

पक्राउ परेका ५ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा राखेर घटनाको थप अनुसन्धान गर्ने काम भइरहेको बताइएको छ ।