शैक्षिक प्रणालीमा सुधार नभएकोमा पुर्व राष्ट्रपतिको चिन्ता

न्युजलय १५ माघ २०८१, मङ्गलबार ०८:५५ मा प्रकाशित

इटहरी । नेपालको शैक्षिक प्रणालीमा अपेक्षित सुधार हुन नसकेको पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छिन् । उल्लेखनीय लगानीका बाबजुद सोचेजति सुधार हुन नसकेकोमा उनले चिन्ता व्यक्त गरेकी हुन् ।


इटहरीस्थित जनता माविको ६८औँ वार्षिकोत्सव तथा अभिभावक भेलाको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । 


गुणस्तरीय शिक्षामा समतामूलक र न्यायोचित पहुँच स्थापित गर्नु अहिलेको आवश्यकता भएको बताउँदै उनले दुर्गम क्षेत्रका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन र शिक्षाको गुणस्तरलाई थप उचाइमा पु¥याउन सबैको साझा प्रयास आवश्यक रहेको बताइन् ।


उनले विद्यालय व्यवस्थापन समिति, विद्यालयका शिक्षकले विद्यालयको शिक्षा सुधारमा राम्रोसँग काम गरेको समेत बताइन् ।


कार्यक्रममा पूर्व राष्ट्रपति भण्डारीले विद्यालयको नव निर्मित १२ कोठे भवनको उद्घाटन गरेकी थिइन् । 


जनता माविले पछिल्लो समय आफ्नो पूर्वाधार र शैक्षिक गुणस्तर सुधारलाई तीव्रता दिएको छ । जसको कारण निजी विद्यालयसँग प्रतिष्पर्धा गर्ने तहमा विद्यालय पुगेको छ । २०१३ सालमा स्थापना भएको जनता माध्यमिक विद्यालयमा यति बेला तीन हजार २०२ जना विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक पशुपति सिग्देलले बताए । उनले विद्यालयको वार्षिक प्रतिवेदनसमेत प्रस्तुत गरेका थिए । जनता माध्यमिक विद्यालयले आगामी शैक्षिक सत्रदेखि आमसञ्चार, कानुन, र इन्जिनियरिङ जस्ता विषयहरू पठनपाठनमा समावेश गर्ने योजना बनाएको जानकारी दिँदै विद्यालयलाई सरकारको थप सहयोगको आवश्यकतामा पनि जोड दिए ।


कार्यक्रममा विद्यालयको विकासमा सहयोग गर्ने विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र दुई जना पत्रकारलाई सम्मान गरिएको थियो ।


यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगालले विद्यालय सुधार गर्ने योजना निरन्तर अघि बढिरहेको र यसमा अविभावकहरुको साथ सहयोग राम्रो रहेको बताएका थिए । उनले सबैको सहयोग हुने हो भने विद्यालयलाई देशकै नमुना बनाउन सकिने बताएका थिए ।


कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारी, पूर्व मन्त्री तथा सांसद भगवती चौधरी, सांसद सपना परियार, कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँच कर्ण राई, इटहरीका मेयर हेमकर्ण पौडेल, उपमेयर सङ्गीता चौधरी, वडाध्यक्षहरू, शिक्षक, बुद्धिजीवी र अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।