झुम्का कारागारमा फेरि एक कैदीको मृत्यु, १५ दिनमा चार जनाको मृत्यु

न्युजलय १९ भदौ २०८२, बिहिबार १२:४२ मा प्रकाशित

इटहरी । सुनसरीस्थित झुम्का कारागारमा बुधबार साँझ सप्तरीको राजविराज–८ का ४६ वर्षीय जलेश्वर यादवको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। 

जबरजस्ती करणी मुद्दामा पुर्पक्ष कैदी रहेका यादवलाई ज्वरो आएपछि श्वासप्रश्वासमा समस्या भएको थियो।

कारागारमा पछिल्ला १५ दिनमा चार कैदीको मृत्यु भएको छ। यसअघि भदौ ४ गते भोजपुरका २८ वर्षीय विकास राई, भदौ १५ गते सुनसरीको गढी–६ का ४८ वर्षीय रामदेव उराँव र भदौ १६ गते धरान–१० का २४ वर्षीय सागर राईको मृत्यु भइसकेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बिहीबार राति १ बजेसम्म बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, जिल्ला अस्पताल इनरुवा, प्रहरी अस्पताल र बेदान्त अस्पतालका २२ जना चिकित्सकले तीन सय ५३ कैदीको स्वास्थ्य परीक्षण गरेका छन्।

रगतको नमुना संकलन गरी थप परीक्षण भइरहेको छ।

हाल १३ जना कैदीलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गरिएको जेलर राम निरौलाले जानकारी दिए। चिकित्सकले हैजा वा भाइरल संक्रमण हुनसक्ने प्रारम्भिक आशंका व्यक्त गरेका छन्।

क्षेत्रीय कारागार झुम्कामा ब्लक ‘ए’ र ‘बी’ गरी हाल १ हजार ७९३ कैदी रहेका छन्।

कैदी संख्याको तुलनामा स्वास्थ्य पूर्वाधार र जनशक्ति अपर्याप्त रहेको भन्दै जिल्ला सुरक्षा समितिले कारागार प्रशासनलाई स्वास्थ्य शिविर सञ्चालन गर्न निर्देशन दिएको छ।