स्ववियु निर्वाचन विवाद : निर्वाचन अधिकृतलाई थुनेर आगजनी, ताला फोडेर उद्धार

न्युजलय २८ फाल्गुण २०८१, बुधबार ०६:५४ मा प्रकाशित

विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसको स्ववियु निर्वाचन समितिको कार्यालयमा काँग्रेस निकट नेविसंघ सम्बद्ध विद्यार्थीले आगजनी गरेका छन् । निर्वाचन अधिकृत डा. सुशीलकुमार अधिकारीलाई कोठामा थुनेर आगजनी गरेका हुन्। प्रहरीको टोलीले ताला फोडेर अधिकारीलाई उद्धार गरेको छ।


प्रहरीले आगजनीमा संलग्न चार जना विद्यार्थी नेतालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नेविसंघका केन्द्रीय सदस्य योजराज दाहाल, पूजा विश्वास, जिल्ला सचिव गुड्डु साह र आयुष दाहाल रहेका छन्। 


नेविसंघको आधिकारिकताको विवाद

नेविसंघको आधिकारिकताको विवादको उत्कर्षमा आगजनी गरिएको हो । क्याम्पसमा काँग्रेस निकट नेविसंघमा पार्टी सभापति शेरबहादुर देउवा समूह र डाक्टर शेखर कोइराला समूह छन् । महेन्द्र मोरङ क्याम्पसमा स्ववियु निर्वाचनको लागि दुईवटा नेविसंघ दर्ता भएका थिए । निर्वाचन समितिले नेविसंघ केन्द्रको पत्रअनुसार देउवा पक्षबाट उम्मेदवार बनेका प्रज्वल विष्टको समूहलाई आधिकारिक मान्दै चुनावी समूहको नाम सार्वजनिक गरेको थियो। यस्तै कोइराला समूहबाट उम्मेदवार बनेका नेविसंघका केन्द्रीय सदस्य योगराज दाहालको समूहलाई स्वतन्त्र प्यानलको मान्यता दिइएको थियो। यसपछि विद्यार्थीहरु आक्रोशित बनेका हुन् ।


यसअघि पनि क्याम्पसभित्रै झडप

नेविसंघको दुई गुटबीच विवाद हुँदा गत फागुन १५ गते हातहतियारसहित झडप भएको थियो । नेविसंघका नेताहरू सरोज पोखरेल, आयुष दाहाल, गुड्डु साह, पूजा विश्वास, प्रशान्त यादव र सुविक्षा थापा मगर घाइते भएका थिए।


क्याम्पस प्रशासनले सबै विद्यार्थी संगठनहरूलाई संयमित हुन र लोकतान्त्रिक प्रक्रियाको सम्मान गर्न आग्रह गरेको छ । महेन्द्र मोरङ क्याम्पसमा विभिन्न १९ वटा समूहले स्ववियु निर्वाचनमा भाग लिँदैछन्। क्याम्पसमा ५ हजार ५ सय जना मतदाता विद्यार्थी रहेका छन्।