झुम्का कारागारमा दुई कैदीको मृत्यु

न्युजलय १७ भदौ २०८२, मङ्गलबार ०२:२७ मा प्रकाशित

सुनसरी । सुनसरीको झुम्का कारागारमा दुई जना कैदी बन्दीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुनसरी गढी गाउँपालिका–६ का वर्ष ४८ को रामदेव उराँव र धरानका वर्ष २४ को सागर राई रहेका छन् ।

उराव कर्तव्य ज्यान मुद्धामा कैद भुक्तान गरिरहेका थिए । राई लागु औषध मुद्दामा पुर्पक्षको लागी कारागारमा कैद भुत्तान गरिरहेका थिए ।

शनिवार राती श्वासप्रश्वासमा समस्या देखिएपछि उराँवलाई उपचारको लागी धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । उरावको उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

लागु औषध मुद्धामा पुर्पक्षको लागी कारागारमा रहेको अर्का कैदी राईलाई बान्ता हुने, शरीर नचल्ने समस्या आएपछि उनलाई पनि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उनको उपचारको क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक दुवै जनाको शव आफन्तले बुझी लगेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए ।

कारागारमा एकै दिन दुई जनाको मृत्यु भएपछि जिल्ला सुरक्षा समिति सुनसरीको टोलीले अनुगमन गरी तत्काल स्वास्थ्य शिविर सञ्चालन गर्न कारागार प्रशासनलाई निर्देशन दिएको छ ।