इटहरी । ठगी तथा चोरीजस्ता अपराधमा संलग्न विवादास्पद व्यक्ति प्रहरीकै मोटरसाइकल लिएर झुम्का बजारमा हिँडिरहेको भेटिएको छ।
प्रस्तावित इलाका प्रहरी कार्यालयले प्रयोग गर्ने को १ ब २३३४ नम्बरको सरकारी मोटरसाइकल बराहक्षेत्र नगरपालिका–८ का सुवास पौडेलले प्रयोग गरिरहेको अवस्थामा फेला परेपछि स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएका छन्।
पौडेलले आफैंलाई प्रहरीको डीएसपी भन्दै ठगी गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। झुटो परिचय देखाई ठगी तथा मोबाइल चोरी गर्दै आएको खुलेपछि उनलाई नियन्त्रणमा लिइएको स्थानीयले जनाएका छन्।
प्रहरीका अनुसार पौडेल पूर्वमा विभिन्न स्थानबाट ठगीमा पक्राउ परिसकेका व्यक्ति हुन्। २०८० सालको कात्तिक ४ गते उनलाई बराहक्षेत्रको महेन्द्रनगर इलाकाले ठगी मुद्दामा पक्राउ गरेको थियो भने दुई महिनापछि पकली प्रहरीले पनि उनलाई ठगी अभियोगमा कारबाही गरेको थियो।
प्रहरीकै मोटरसाइकलजस्तो संवेदनशील साधन विवादित पृष्ठभूमिका व्यक्तिसम्म कसरी पुग्यो भन्नेबारे चासो थपिएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी योगराज खतिवडाले पौडेलमाथि अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरी ७ दिनको म्याद लिएर अनुसन्धान अगाडि बढाइएको बताए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।