कोशी एक्सिलेन्स अवार्डमा १३ उत्कृष्ट व्यक्तिहरू विभूषित

न्युजलय ८ फाल्गुण २०८१, बिहिबार ०७:३२ मा प्रकाशित


इटहरी । कोशी एक्सिलेन्स अवार्डमा १३ विधाका उत्कृष्ट व्यक्तिहरू विभूषित भएका छन् ।

बुधबार इटहरीको सोल्टी वेस्टेन्डमा आयोजित कार्यक्रममा कोशी प्रदेशमा जन्मिएर विभिन्न विधामा उत्कृष्ट योगदान पुर्‍याएका व्यक्तिहरूलाई विभूषित गरिएको हो ।

नयन एड्भरटाइजिङ मिडिया प्रालिद्दारा सञ्चालित प्रदेश खबरले आफ्नो स्थापनाको तीन वर्ष प्रवेश गरेको अवसर पारेर कोशी एक्सिलेन्स अवार्ड कार्यक्रमको आयोजना गरी विभूषित गरेको हो ।

शिक्षा विधातर्फ प्रा.डा. टंकप्रसाद न्यौपाने, स्वास्थ्य विधातर्फ डा. ज्ञानेन्द्रमान सिंह कार्की, पत्रकारितातर्फ विष्णु निष्ठुुरी, साहित्य विधातर्फ झमक घिमिरे, सामाजिक विधातर्फ गीता गौतमलाई अवार्ड प्रदान गरियो ।

यस्तै, कृषि तथा महिला उद्यम विधाबाट शान्ता बास्कोटा, खेलकुद विधातर्फ दिलीप राई, बैंकिङ बिधातर्फ ज्ञानेन्द्रप्रसाद ढुंगाना, पर्यटन विधातर्फ भविष श्रेष्ठ, सूचना तथा प्रविधि विधातर्फ राजन लम्साल, कर्पोरेट विधाबाट महेश जाजु, युवा उद्यम विधाबाट पारस लुनियाँ र स्टार्टअप विधामा आयुष भगत अवार्ड प्रदान गरिएको हो ।

उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले अवार्ड प्रदान गरे ।

यसैगरी वार्षिकोत्सवको अवसरमा १२ जनालाई सम्मान गरिएको छ । सम्मानित हुनेमा नेपाल राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारी, नेपाल सरकारका प्रथम महिला मुख्यसचिव लीलादेवी गड्तौला, श्रमजिवी नेपाल यातायात स्वतन्त्र मजदुर संगठन अध्यक्ष भीमज्वाला राई छन् ।

यस्तै, इलाम नगरपालिकाकी उपप्रमुख विष्णुकमारी लिम्बू (दहाल), अग्रज पत्रकार गोविन्द चन्द्र क्षेत्री, शिक्षासेवी चन्द्र भण्डारी, टाइम्स पब्लिकेशनका पुरुषोत्तम दाहाल, नेपालमा सबैभन्दा अग्ला व्यक्तिका रूपमा परिचय स्थापित गराउने राजन अधिकारी र पर्यटन व्यावसायी सुनील भुसाल रहेका छन् ।

यस्तै, संस्थाहरू कामधेनु दूग्ध विकास सहकारी संस्था लिमिटेड, माया घर नेपाल र नव दृष्टि आँखा अस्पताललाई सम्मान गरिएको हो ।

कार्यक्रममा कोशी प्रदेश सरकारका आन्तरिका मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी, पर्यटन वन तथा वातावरण मन्त्री सदानन्द मण्डल, कांग्रेस केन्द्रीय सदस्य राजीव ढुंगाना, नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहाल, महासंघ कोशीका अध्यक्ष भरत खड्कालगायतले सम्बोधन गरेका थिए ।