काठमाण्डौ । अमेरिकाको विस्कनसिनमा क्रिसमस परेडमा एक व्यक्तिले गाडी चलाउँदा पाँचजनाको मृत्यु भएको छ। घाइतेको संख्या ४० भन्दा बढी रहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।
सामाजिक सञ्जालमा पोस्ट भएको भिडियोमा एक व्यक्तिले रातो रंगको कार परेडमा सहभागी मानिसमाथि चलाएको देखिन्छ।
स्थानीय समयअनुसार आइतबार बेलुका विस्कनसिनको वाकिशामा भएको घटनामा कारले बालबालिकासहितलाई हिर्काएको हो। प्रहरी अधिकारीले पाँचजनाको ज्यान गएको बताए पनि परिवारका सदस्यको स्वीकृतिविना विस्तृत विवरण नदिने उल्लेख गरेको छ।
घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। भीडमा गाडी चलाउने व्यक्तिलाई नियन्त्रणमा लिइएको र अनुसन्धान जारी रहेको प्रहरीलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ।