धरान । शिक्षा सेवी श्यामबहादुर कटुवाललाई हिसान शिक्षा रत्न सम्मान प्रदान गरिएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ हिसान सुनसरीद्वारा आयोजित ११औँ हिसान स्पोर्टस् मिटको समापन समारोहमा उक्त सम्मान दिइएको हो । प्रमुख अतिथि हिसानका केन्द्रीय अध्यक्ष रमेश सिलवालले दोसल्ला ओढाएर सम्मान गरेका हुन् । कटुवाल शिक्षा सदन माविका पूर्व प्रधानाध्यापक हुन् ।
यसैगरी पत्रकार कृष्ण बहाव भट्टराईलाई २५ हजार रुपैयाँ नगद राशिको ‘हिसान शिक्षा पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । प्रत्येक वर्ष शिक्षाको क्षेत्रमा समाचार लेख्दै आएका पत्रकारलाई पुरस्कार दिइने गरिन्छ ।
सोही अवसरमा हिसान सुनसरीद्वारा आयोजित हिसान स्पोर्टस् मिटका विजेता विद्यालयीय टिमहरूलाई शिल्ड, कप, पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रम हिसान सुनसरीका अध्यक्ष सागरप्रसाद भट्टराईको सभापतित्वमा भएको थियो ।