इटहरी । जेन्जी आन्दोलनका एक अगुवा सुदन गुरुङ र धरानका मेयर हर्क साम्पाङ अघिल्लो स्थानीय तहको चुनावमा सँगसँगै थिए ।
हर्क धरानको मेयर उठ्दै गर्दा सुदनले सघाएका थिए । पछि हर्क मेयर बनेपछि सुधन लगायतको अगुवाइमा वीपी प्रतिष्ठानमा सधैंझैं आन्दोलन भयो । तर साम्पाङले वीपी सुधारमा चासो देखाएनन् ।
जित्नुअघिसम्म वीपीको सुधारका लागि सिनेट बैठकमै जान खोज्ने साम्पाङ मेयर भइसकेपछि भने आन्दोलनकारीलाई सम्बोधन गर्न पनि आएनन् । त्यसपछि सुदन लगायत आन्दोलनकारीहरु मेयर साम्पाङसँग रुष्ठ भए ।
एक पटक आन्दोलनकारीलाई सम्बोधन गर्दै सुदनले भने, हामीले उसलाई ढुंगा गिटी बोक्न पठाएको होइन त । वीपीको कुरामा चासो दिँदैन, हर्क साम्पाङ फेरी वीपी फर्केर आएको छैन । मैले कतिलाई भोट हाल्न लगाएको थिए, मलाई चित्त दुःखाइ छ ।
जवाफमा साम्पाङले धैर्यता आवश्यक भएको र बनाउन समय लाग्ने बताएका थिए । केटाकेटीले जस्तो कुरा सुदनले गरेको टिप्पणी गरेका थिए ।
अहिले साम्पाङका समर्थकहरु सुदनको आलोचना गरिरहेका छन् । सुदन भारतीय भएको, हर्कलाई वेवास्ता गर्दै भारतसँग झुकाव राख्ने सुशीला कार्कीलाई समर्थन गरेको भन्दै आक्रोशित छन् । उनीहरुले नै सुदनको पुराना फोटो, भिडियोहरु आलोचनात्मक रुपमा भाइरल गरेर भारतीय गुप्तचर रअका मान्छे भएको प्रचार गरिरहेका छन् ।