कोशी प्रदेशसभाका सचिव पराजुलीलाई ६ वर्ष कैद, एक करोड २२ लाख जरिवाना

न्युजलय ३१ माघ २०८१, बिहिबार ०८:१० मा प्रकाशित

विराटनगर । कोशी प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुली भ्रष्टाचारी ठहर भएका छन् । १० वर्षअघि काठमाडौँ जिल्ला विकास समितिका तत्कालीन स्थानीय विकास अधिकारी भएका बेलामा पशुपतिको जग्गामा बालुवाखानी सञ्चालन गर्न दिँदा भ्रष्टाचार गरेको आरोपमा उनी दोषी ठहर भएका हुन्। 


विशेष अदालतबाट उनीहरूले सफाइ पाएकोमा त्यस विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुनरावेदन गरेकोमा सर्वोच्चले विशेषको फैसला उल्ट्याउँदै आरोपीहरुलाई दोषी ठहर गरेको हो । 


पराजुलीलाई सर्वोच्च अदालतले ६ वर्ष कैद सजाय र ६२ लाख ३७ हजार रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै त्यसको दोब्बर एक करोड २२ लाख जरिवाना हुने फैसला गरेको छ ।


सो प्रकरणमा नेकपा एमालेका नेता निर्मल कुइँकेलसहित ९ जनासमेत दोषी ठहर भएका छन् । उनलाई ६ वर्ष कैद सजाय तोकेको छ । कुइँकेलले ८३ लाख ४१ हजार रुपैयाँ भ्रष्टाचार गरेको ठहर गरेको हो । 


अदालतको फैसलासँगै उनी स्वतः पदमुक्त भएका छन् । 


अख्तियारले विशेष अदालतमा दर्ता गरेको अभियोग पत्रमा गुरुयोजना बनाएर व्यवस्थित पूर्वाधार र संरचना विकास गर्नुपर्ने क्षेत्रमा बालुवा खानी सञ्चालन गरेर कोषको सम्पत्ति दुरुपयोग गरेको आरोप लगाइएको थियो ।


पशुपति क्षेत्र विकास कोषका अर्का सदस्य सचिव सुशील नाहाटा, महेन्द्रलाल श्रेष्ठ, तत्कालीन स्थानीय विकास अधिकारी प्रेमराज जोशी, काठमाडौँ जिविसका तत्कालीन योजना अधिकृत भीष्मकुमार मल्ल, राजुकुमार रेग्मीलाई समेत कैद तथा जरिवाना फैसला गरेको छ ।