विराटनगर । बाल यौन दुरुपयोग मुद्दामा दोषी ठहर भएका व्यक्ति विराटनगरबाट पक्राउ परेका छन् ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–७ का ५९ वर्षीय अर्थराज कोइराला पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्न आएका बेला उनी पक्राउ परेका हुन् ।
रास्वपाले मंगलबार लामिछानेको पक्षमा महेन्द्र चोकमा हस्ताक्षर संकलन गरेको थियो । कोइराला हस्ताक्षरका लागि पुगेका बेला पक्राउ परेको मोरङ प्रहरीले जनाएको छ । मुद्दा सुनसरीको भएका कारण मंगलबार नै उनलाई सुनसरी पठाइएको छ ।
कोइरालालाई जिल्ला अदालत सुनसरीले गत ३२ असारमा कसुरदार ठहर गरेको थियो । बाल यौन दुरुपयोग मुद्दामा दोषी ठहर भएका उनलाई अदालतले २ वर्ष कैद, २५ हजार रूपैयाँ जरिबाना हुने फैसला गरेको थियो । पीडितलाई क्षतिपूर्तिबापत कोइरालाबाट २ लाख रूपैयाँ भराउने फैसला पनि भएको थियो ।
अमेरिका बस्दै आएका कोइराला बाल यौन दुर्व्यवहारको आरोपमा गत वैशाखमा पक्राउ परेका थिए । त्यसपछि उनी अदालतले मागेको धरौटी बुझाएर छुटेका थिए । मुद्दा फैसला हुँदा उनी दोषी ठहर भएका थिए ।