मलेसियामा रोजगारी खुलेको भन्ने सामाजिक सञ्जालका सूचनामा विश्वास नगर्न दूतावासको आग्रह

न्युजलय २७ कार्तिक २०७८, शनिवार ०९:२५ मा प्रकाशित

काठमाडौं । मलेसियास्थित नेपाली दूतावासले मलेसियामा रोजगारी खुलेको भन्ने सामाजिक सञ्जालका सूचनामा विश्वास नगर्न आग्रह गरेको छ । 


रोजगारीका लागि मलेसियामा जान भिसा अवधि बाँकी रहेका कामदारका लागि मात्र खुला भएपछि त्यसैलाई आधार बनाएर ‘वैदेशिक रोजगारीका लागि मलेसिया खुल्यो’ भन्दै प्रचार भइरहेको छ । 


दूतावासको शुक्रबारको साप्ताहिक फेसबुक कार्यक्रममा सबैजसोले सोही विषयमा जिज्ञासा राखेका थिए । जवाफमा श्रम सहचारी प्रकाश पन्थीले मलेसियामा नयाँ मागपत्र प्रमाणीकरण सुचारु नभएको भन्दै सामाजिक सञ्जालले दिएका सुचना र समाचारलाई विश्वास नगरी दूतावासको आधिकारिक सूचना पर्खिन आग्रह गरेको छ । 


कोरोना भाइरस महामारीका कारण मलेसियाले नेपालीसहित विदेशी कामदारको प्रवेशमा लगाएको प्रतिबन्ध हटाइएको बताएपछि लामो समयदेखि बन्द रहेको मलेसियाको रोजगारी खुला भएको आंकलन गरिएको थियोे । 


कतिपयले आगामी जनवरीदेखि नयाँ डिमाण्ड आउने बताउने गरेका छन् । तर मलेसियास्थित नेपाली दूतावासले नयाँ कामदारको माग आउने बारे मलेसियाको सरकारी संयन्त्रबाट हालसम्म केही जानकारी नदिइएको भन्दै त्यसबारे तत्काल केही भन्न नसकिने बताएको छ ।