अनुसन्धान थालेपछि अमेरिका भागे साम्पाङसँग जोडिएका धर्म प्रचारक १७ अमेरिकीहरु

न्युजलय २७ माघ २०८१, आइतबार ०८:४५ मा प्रकाशित

काठमाडौँ । पर्यटकका रूपमा भित्रिएर धर्म प्रचारमा लागेको आरोपमा पक्राउ परेका १७ अमेरिकीहरु अनुसन्धान थालेसँगै अमेरिका भागेका छन् । भिसा दुरुपयोग गरी उनीहरु धरानमा हर्क साम्पाङको श्रमदानमा जोडिएका थिए । साम्पाङले श्रमदानमा सहभागि भएको भन्दै सगर्व फोटोसमेत पोस्ट गरेका थिए । 


धरान ५, देउराली सौगातचोकस्थित प्रेरणा कल्याणकारी समाजको भवन बनाउने भन्दै श्रमदानमा आएका उनीहरूले धर्म प्रचार गरेपछि पक्राउ गरेको प्रहरीले जनाएको थियो । प्रशासनले सोधपुछ गरी चेतावनी दिएर छाडेको थियो भने अनुसन्धानको लागि जिल्ला प्रशासन कार्यालय सुनसरीले गृह मन्त्रालयमा कागजातहरु पठाएको थियो । गृहले भने थप अनुसन्धानका लागि अध्यागमन विभागमा पठाएको थियो । 


ती नागरिकलाई केही समयसम्म नेपाल फर्कन नपाउने गरी अमेरिका पठाउने तयारी थियो । तर त्यसअघि नै उनीहरु सुटुक्क भागेका हुन् । विमानस्थल अध्यागमन कार्यालय स्रोतका अनुसार उनीहरु शुक्रबार कतार एयरवेजको विमानबाट फिर्ता भएका हुन् । 


सुनसरी प्रशासनका अनुसार अमेरिकी नागरिकहरू र्‍यान म्याथ्यु कार्टर, साइलस ड्यानियल फक्स, रसेल टमस होवेल्स, रोज ब्रायन होवेल्स, मार्क अलान समर्स म्याथ्यु ब्रायन केनेडी, प्याट्रिक इरभिन समर्स, डुआन माइकल गोडलिङ, बेन्यामिन वार्ड कौफ म्यान, ब्रायन वार्ड कौफ म्यान, डिलन ज्याक्सन बोन्जो, क्याथलिन सु मूर, डासन एन्ड्रु कार्टर, जेम्स नाथन अस्टिन, विलियम रेमन्ड भिभियानो जुनियर, केनेथ डेभिड ग्रे र जेम्स रे मर्फी थर्ड धर्म प्रचारमा संलग्न थिए ।