इटहरी । कोशी प्रदेश सरकारले प्रदेश राजस्व कार्यालय सुनसरीको इटहरीमा सञ्चालनमा ल्याएको छ। देशमा कुनैपनि प्रदेश कार्यालयले सञ्चालनमा ल्याएको यो पहिलो राजस्प कार्यालय हो ।
प्रदेशस्तरीय राजस्व संकलनलाई प्रभावकारी र व्यवस्थित बनाउन सोमबारदेखि यो कार्यालय सञ्चालनमा आएको आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना मगरले बताए । कार्यालय उद्घाटन गर्दै उनले विगतमा प्रदेश सरकार अपेक्षाअनुसार राजस्व संकलन गर्न नसकेको स्वीकार गर्दै जनतामाथि अतिरिक्त करको बोझ नपर्ने गरी राजस्व वृद्धिको वातावरण बनाउने उद्देश्यले यो कार्यालय स्थापना गरिएको बताए ।
गत आर्थिक वर्षमा कोशी प्रदेश सरकारले ४ अर्ब ९८ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो, जसको ९८ प्रतिशत मात्र पूरा भएको थियो। चालु आवमा भने ५ अर्ब ५० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएको मन्त्री रानाले जानकारी दिए।
उद्घाटन कार्यक्रममा प्रदेश सभा सदस्य रमेश बस्नेत, प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र, मुख्यमन्त्रीका आर्थिक सल्लाहकार डा. मोहन सुवेदीलगायतले प्रदेशको राजस्व व्यवस्थापनलाई सबल बनाउन राजस्व कार्यालयको भूमिका महत्त्वपूर्ण हुने धारणा राखेका थिए।