बिर्तामोड । बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र सङ्ग्रौला र वडाध्यक्ष अजय कार्कीबीच बुधबार नगरपालिका कार्यालयभित्रै लफडा भएको छ ।
फेसबुकमा उपमेयर संग्रौलाले आफूविरुद्ध कमेन्ट गरेपछि कार्की हुल बाँधेर उपमेयरको कक्षमा पुगेका थिए । सो क्रममा दुवै पक्षबिच फटाहा, चोर भन्दै एक अर्कालाई अपाच्य गाली गलौज गरेका थिए । तँँ तँ र म म गर्दै त्यहाँ दुवैबिच झण्डै हात हालाहालको स्थिती सृजना भएको थियो ।
कार्यपालिका बैठकको फोटोमा एक नगरवासीले गरेको कमेन्टमाथि उपप्रमुख सङ्ग्रौलाले कमेन्ट गरेका थिए । वडा नं. ८ का जनप्रतिनिधि नदेखेको भन्दै एक जनाले गरेको कमेन्टमाथि संग्रौंलाले “नेपाली नागरिकता बेचेर खाने, जेल हाल्नु पर्ने मानिस अदालतले फैसला अड्काउने, पुनः निर्वाचन लड्न अवसर दिने, सोही मुद्दामा परेका मानिस जेल बस्नुपर्ने, राष्ट्र द्रोही मानिसलाई अझै पनि भोट हाल्नु पर्छ” भनेर लेखेका थिए ।
आफूविरुद्ध टिप्पणी देखेपछि वडाध्यक्ष कार्की दलबलसहित उपप्रमुख सङ्ग्रौलाको कार्यकक्षमा पुगेका थिए । पछि प्रहरीले दुवै पक्षलाई छुट्याएको थियो ।
वडाध्यक्ष कार्कीले आफूहरु सम्झाउन गएको प्रतिक्रिया दिएका छन् भने उपप्रमुख सङ्ग्रौलाले भने वडाध्यक्ष कार्कीले आफ्नो विरुद्धमा गलत प्रचार गरेपछि टिप्पणी गरेको प्रतिक्रिया दिएका छन् ।
बुधबारको घटनापछि दुवै पक्षबिच मेलमिलाप गराउनका लागि विहीबार बिर्तामोड नगरपालिकाको कार्यपालिका बैठक बसेको छ । बैठकले विज्ञप्ती जारी गर्दै व्यक्तिगत अफवाह फैलाउने, सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी गर्ने जस्ता कार्य पूर्णत बन्द गर्न जनप्रतिनिधिहरूलाई सचेत गराएको छ ।
बैठकले आफ्नो मान मर्यादा कायम गर्न र आचारसंहिता पूर्णरुपमा पालना गर्न अनुरोधसमेत गरेको छ । विहीबारको बैठकमा वडाध्यक्ष कार्की अनुपस्थित थिए ।
उक्त विवादलाई अन्त्य गरी मेलमिलाप गर्न गराउन आज बसेको कार्यपालिकाको बैठकमा वडा नं. ८ का वडाध्यक्ष कार्की अनुपस्थित रहेका थिए ।