उत्तर कोरियामा स्क्वीड गेमको कपी बेच्नेलाई मृत्युदण्ड, हेर्नेलाई आजीवन जेल

न्युजलय १० मङ्सिर २०७८, शुक्रबार ०८:५५ मा प्रकाशित

काठमाडौं । उत्तर कोरियामा एक जना विद्यार्थीलाई नेट्फ्लीक्स सिरिज स्क्वीड गेमको कपी बेचेको निहुँमा मृत्युदण्डको सजाय दिइएको छ । विद्यालयका सात जना विद्यार्थीले उक्त सिरिज हेरिरहेको भेटिएको थियो । 

 

त्यसको अनुसन्धानको क्रममा उक्त सिरिजको कपि बिक्री गर्नेलाई मृत्युदण्डको सजाय दिइएको छ भने उक्त सिरिजको कपी खरिद गरेर हेर्ने ६ जनालाई आजीवन जेल सजाय सुनाइएको छ । 


विद्यार्थीहरूले लुकीछिपी उक्त सिरिज हेरेपछि विद्यालयका शिक्षक र प्रशासनका कर्मचारीलाई पनि विद्यालयबाट निकाला गरिएको छ । 


उनीहरूलाई हालै जारी भएको नयाँ कानुन अनुसार सजाय दिइएको हो । उत्तर कोरियामा संस्कृति सम्बन्धी भर्खरै जारी भएको उक्त कानुन अनुसार मुख्यगरी अमेरिका र दक्षिण कोरियामा बनेका मिडिया सामग्री हेर्न प्रतिबन्ध छ ।


उक्त कानुन अनुसार ती सामग्री हेरेको या बेचविखन गरेको पाइएमा मृत्युदण्ड नै दिइने व्यवस्था छ । 


दक्षिण कोरियाले नेट्फ्लीक्समार्फत रिलिज गरेको उक्त सिरिज यसवर्ष विश्वभर सर्वाधिक रूचाइएको सिरिज हो ।


निर्देशक ह्वाङ डोङ ह्यूकले सिरिजको अपार सफलता पछि दोस्रो सिजन पनि बनाउने घोषणा गरिसकेका छन् ।