झुम्का कारागारबाट फरार कैदी पक्राउ

न्युजलय ३३ साउन २०८२, आइतबार ०६:२३ मा प्रकाशित

इटहरी । सुनसरीको झुम्का कारागारबाट साउन २८ गते बिहान फरार भएका जबरजस्ती करणी मुद्दाका कैदी आफन्तको घरमै सुतिरहेको अवस्थामा पक्राउ परेका छन्।

खोटाङ दिप्रङ चुईचुम्मा गाउँपालिका–२ का २८ वर्षीय रूपक पौडेल (खत्री) झापाको बिर्तामोड नगरपालिका–१०, विराट पोखरस्थित आफन्तको घरबाट पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय झापाले खत्रीलाई शनिवार बिहान नियन्त्रणमा लिइएको जानकारी दिएको छ । खत्री शुक्रवार रातिदेखि आफन्तको घरमा लुकिछिपी बसेका थिए।

उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापा राखिएको छ।

साउन २८ गते बिहान खत्री कारागारको ‘बी’ ब्लकबाट फरार भएका थिए। कारागारको मुढा बनाउने उद्योगको छानामाथि चढेर उनले करिब १० फिट लामो सिडी तयार पारेका थिए। सोही सिडीको सहायताले करिब २० फिट अग्लो पर्खाल नाघेर बिहान करिब २ बजे उनी कारागार बाहिर निस्केका थिए।

जबरजस्ती करणी (सामूहिक बलात्कार) घटनामा संलग्न रहको ठहर गर्दै जिल्ला अदालत सुनसरीले २०८१ चैत २५ गते खत्रीलाई १३ वर्ष कैद सजायको फैसला गरेको थियो।