धरान–लेउती कोशी प्रदेशकै पहिलो सुरुङ मार्गको प्रक्रिया अघि बढाइने

न्युजलय १६ जेठ २०८२, बिहिबार ०९:३४ मा प्रकाशित

धरान । धरान देखि लेउतीसम्म सुरुङ मार्ग निर्माण गर्ने प्रक्रिया अगाडी बढाइने भएको छ । यो कोशी प्रदेशकै पहिलो र अहिलेसम्म प्रस्तावित एकमात्र सुरुङ मार्ग हो ।


आज सार्वजनिक भएको आर्थिक वर्ष २०८२/८३ को बजेटमा सुरुङ मार्ग बनाउनको लागि स्रोत व्यवस्थापन र अन्य प्रक्रिया अघि बढाउने विषय समेटिएको हो ।


यो सुरुङ मार्गको सम्भाव्यता अध्ययन सकिइसकेको छ । १० अर्ब खर्च लाग्ने झण्डै चार किलोमिटर लामो यो मार्ग बनेपछि धनकुटासम्मको दुरी छोटिनेछ । धनकुटा जानेले भेडेटार चढिरहनुपर्दैन । यसले समय र खर्च बचाउनेछ । यस्तै पुर्वको पहिलो सुरुङ भएको हुँदा पुर्व घुम्न आउने पर्यटकहरुको लागि नयाँ आकर्षण तयार हुने अनुमान गरिएको छ । यो मार्ग बन्यो भने लेउती र तमोरको पानी धरान ल्याउनसमेत सहज हुने बताइएको छ ।


अर्थमन्त्री विष्णु पौडेलले नै आर्थिक वर्ष २०७८/०७९ को बजेट वक्तव्यमा पहिलो पटक धरान–धनकुटा सडक खण्डअन्तर्गत ‘धरान–लेउती सुरुङ मार्ग’ निर्माण प्रारम्भ गर्न बजेट विनियोजन गरेका थिए । सोही वर्ष घोषणा गरिएको सिद्धार्थ राजमार्गको सिद्धबाबा–दोभान खण्डको सुरुङ मार्गको मुख्य टनल ब्रेक थ्रु नै भइसकेको छ । तर धरान–लेउती सुरुङ मार्ग भने सुरु हुन पनि सकेको छैन ।