इटहरी । मार्केटिङको नाममा काममा लगाएर बन्धक बनाइएका १२ जना बालबालिकालाई प्रहरीले इटहरीस्थित एक होटलबाट उद्धार गरेको छ। घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ।
प्रहरीका अनुसार काठमाडौं चाबहिलमा कार्यालय रहेको वेल्स ग्लोबल इन्टरनेसनल प्रा.लि. नामक कम्पनीले टिकटकमार्फत हर्बल सामग्रीको मार्केटिङका लागि विज्ञापन गरेको थियो।
उक्त विज्ञापन हेरेर धनकुटा, सोलुखुम्बु, सिन्धुली, रामेछाप, गोरखा, बाजुरा लगायतका जिल्लाबाट बालबालिका र युवाहरू कामको खोजीमा कम्पनीमा पुगेका थिए।
उनीहरूलाई सुरुमा काठमाडौंमा एक महिनासम्म काम गराएर पछि इटहरीमा स्थानान्तरण गरी ‘बन्दना होटल’ मा राखी काममा लगाइएको थियो।
सिन्धुपाल्चोककी २२ वर्षीया एक युवतीले आफूलाई असार १ र २ गते शरीर बन्धक बनाएर यौन दुर्व्यवहार गरिएको भन्दै उजुरी दिएपछि घटना बाहिरिएको हो। उजुरीका आधारमा इलाका प्रहरी कार्यालय इटहरीको टोलीले इटहरी ९ स्थित बसपार्क नजिकैको बन्दना होटलमा छापा मारेको थियो।
यौन दुर्व्यवहारको आरोपमा प्रहरीले कम्पनीका मार्केटिङ म्यानेजर ओखलढुंगाको खिजीदिम्बा गाउँपालिका १ का २९ वर्षीय तिलक श्रेष्ठ र सोलुखुम्बु नेचाकी २२ वर्षीया टीका कट्टेललाई नियन्त्रणमा लिएको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय इटहरीका अनुसार उद्धार गरिएका १२ जनामध्ये अधिकांश बालिका रहेका छन्।
तीमध्ये दुई जना पीडितको स्वास्थ्य परीक्षण गरी सुरक्षित स्थानमा राखिएको छ भने अन्यलाई प्रहरीको निगरानीमा सोही होटलमा राखिएको छ।
पक्राउ परेका दुवैजनाले आफूहरूसँग रहेका व्यक्तिहरूलाई घर जान दिने अनुमति नदिईकन धम्क्याउँदै इटहरी र धरान लगायतका पूर्वी सहरहरूमा पठाउने र जबरजस्ती सामान बेच्न बाध्य पार्ने गरेको उजुरीका आधारमा अनुसन्धान अगाडि बढाइएको इटहरी प्रहरीले जनाएको छ ।