इटहरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

न्युजलय ८ भदौ २०८२, आइतबार ०२:४५ मा प्रकाशित

इटहरी । इटहरी–७ बालग्रामस्थित भोजराज कार्कीको घरमा लागूऔषध कारोबार भइरहेको विशेष सूचनाको आधारमा प्रहरीले छापा मार्दा दुई जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय इटहरी र प्रहरी चौकी बालग्रामबाट संयुक्त रूपमा खटिएको टोलीले घरमा भाडामा बस्दै आएका रामधुनी–६ का २८ वर्षीय विप्लव चौधरी र इलाम फाक्फोकथुम–६ की २७ वर्षीया सुष्मा राईको कोठामा चेकजाँच गरेको थियो ।

चेकजाँचका क्रममा लुकाइ–छिपाइ राखिएको अवस्थामा ३४.५६ ग्राम ब्राउनसुगर र नगद ७६ हजार एक सय फेला परेको प्रहरीले जनाएको छ ।

बरामद लागूऔषध र नगदसहित दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।