बराहक्षेत्रको प्रकाश माविले पनि विद्यार्थी पढाउन थाल्ने

न्युजलय १५ बैशाख २०८२, सोमबार १०:३५ मा प्रकाशित

प्रकाशपुर । सुनसरीको बराहक्षेत्र नगरपालिकास्थित प्रकाश माविमा बुधबारदेखि पढाइ सुरु हुने भएको छ । शिक्षकहरु आन्दोलनमा गएपनि स्वयंसेवक शिक्षकहरुबाट पढाइ सुरु गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम कार्कीले जानकारी दिए । 


निजी विद्यालयहरु लाग्न सुरु भएपनि सामुदायिक विद्यालय सुरु हुने छाँट नदेखिएपछि स्वयंसेवकहरुबाट पढाउन थालेको उनले जानकारी दिए । सामुदायिक विद्यालयका विद्यार्थी र अविभावकहरु निजीतिर जाने छाँट देखिएपछि विद्यालय सुरु गर्न लागिएको कार्कीले जानकारी दिए । 


उनले मंगलबार नै किताबहरुसमेत बाँडिएको र बुधबारदेखि नियमित पढाइ हुने जानकारी दिए ।


शिक्षकहरुको राजधानी केन्द्रित आन्दोलन लम्बिँदै गएका कारण सामुदायिक विद्यालयहरुमा पठन पाठन सुरु हुन नसक्दा अविभावकहरुमा आक्रोश बढ्दै गएको छ । शिक्षकहरु नआएपनि विभिन्न ठाउँमा स्वतस्फूर्त विद्यालय सञ्चालन गर्न थालिएको छ ।