विराटनगर । विराटनगरमा दुई वटा मोटरसाइकल एकापसमा ठक्कर भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएकी छन्।
प्रहरीका अनुसार को ३४ प २४३४ नम्बरको मोटरसाइकल, जुन दूध फार्मबाट कञ्चनबारीतर्फ जाने क्रममा प्रदेश १–०२–०४४ प ९५७२ नम्बरको मोटरसाइकलबीच एकापसमा ठक्कर भएको हो ।
दुर्घटनामा विराटनगर–५ का ४२ वर्षीय नवीन खनालको मृत्यु भएको हो।
घटनामा गम्भीर घाइते भएका खनालको नोबेल शिक्षण अस्पतालमा सोमबार दिउँसो उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा अर्को मोटरसाइकलमा सवार भारत झारखण्डकी २९ वर्षीया सपना दास घाइते भएकी छन्। हाल उनी विराटनगर–६, रामपुरस्थित माइतीमा बस्दै आएकी थिइन्। उनको अवस्था सामान्य रहेको र नोबेल अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि २४३४ नम्बरको मोटरसाइकल चालक, झारखण्ड निवासी ३४ वर्षीय राकेश रञ्जनलाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।