इटहरी । धरानबाट धनकुटा हुँदै भोजपुरतर्फ आउँदै गरेको को १ ख २१७७ नम्बरको बस दुर्घटनामा परेर मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
धनकुटाको धनकुटा नगरपालिका–६, औद्योगिक ग्रामनजिक सोमबार ९भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको हो ।
दुर्घटनामा परी सख्त घाइते भएकी धनकुटा नगरपालिका–६ की ७३ वर्षीया कृष्णकुमारी भुजेलको उपचारका क्रममा धनकुटा अस्पतालमा मृत्यु भएको थियो । चालक सुनसरीको धरान उपमहानगरपालिका–१३ का ५१ वर्षीय रुद्र तामाङको पनि उपचारका क्रममा सोमबार बेलुका मृत्यु भएको थियो ।
उपचारकै क्रममा रहेका भोजपुरको षडानन्द नगरपालिका–१३ का ५८ वर्षीय लीलाबहादुर श्रेष्ठको मंगलबार बिहान मृत्यु भएको धनकुटा प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, बस दुर्घटनामा परी १४ जना घाइते भएका थिए । विभिन्न अस्पतालमा उनीहरूको उपचार जारी छ ।