इटहरी । साउन १० गते हुने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को इटहरी अधिवेशन तत्काललाई रोकिएको छ । उच्च अदालत विराटनगरको आदेशपछि अधिवेशन रोकिएको हो ।
रास्वपाका इटहरी उपमहानगर सभापति बिष्णु बहादुर बस्नेतले अधिवेशन रोक्न माग गर्दै उच्च अदालत विराटनगरमा निवेदन दिएका थिए । बस्नेतलाई रास्वपाको केन्द्रीय अनुशासन आयोगले गत असार ८ गते इटहरीको पार्टी सभापति पदबाट निलम्बन गर्ने निर्णय गरेको थियो ।
पार्टीभित्रका नेताहरुको भ्रष्टआचरणका बारेमा कुरा उठाएको कारण आफूलाई निलम्बन गरिएको उनको दुःखेसो छ ।
दुवै पक्षलाई छलफलको लागि साउन १२ गते पेशी तोक्न आदेश पनि उच्च अदालत विराटनगरले दिएको छ ।
इटहरीका २० वडाहरु मध्ये ७ वटा वडामा वडास्तरीय अधिवेशन नै नगराई पार्टीको आधिकारिक पोर्टलमा आफुखुसी पोष्ट गरी त्यसैलाई आधार मानेर रास्वपा इटहरीको १० श्रावणमा अधिवेशन गर्न लागिएको आरोप छ ।
आफूहरुले पटक पटक केन्द्रिय समितिलाई पत्रचार गरेपनि सुनुवाई नभएको बस्नेत समुहको भनाई छ ।