मोरङमा घारीभित्र कुहिएको अवस्थामा महिलाको शव फेला

न्युजलय २९ असार २०८२, आइतबार ०५:५२ मा प्रकाशित

मोरङ । मोरङको बूढीगंगा गाउँपालिका–६, कोयलपुरस्थित सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरनजिक रहेको घारीभित्र एक महिलाको शव कुहिएको अवस्थामा फेला परेको छ।

शनिबार दिउँसो स्थानीयले दुर्गन्ध फैलिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी नारायणप्रसाद चिमरियासहितको टोली घटनास्थल पुगेको थियो।

प्रहरीका अनुसार शरीरका विभिन्न भागमा किरा परिसकेको र अनुहार पूर्ण रूपमा क्षतिग्रस्त भएको कारण तत्काल शवको पहिचान हुन सकेको छैन ।

शव महिलाको भएको प्रारम्भिक अनुमान गरिएको छ। लगाएका लुगा र अन्य भौतिक संकेतका आधारमा यस्तो आशंका गरिएको हो। यद्यपि, शवको पहिचान पुष्टि भइनसकेको प्रहरीले जनाएको छ।

प्रहरीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि विराटनगरस्थित कोशी अस्पताल पठाएको छ।