भोजपुरको अरुण नदीमा बेपत्ता भएका दुई बालिका अझै भेटिएनन्

न्युजलय १३ असार २०८२, शुक्रबार ०१:५४ मा प्रकाशित

भोजपुर । अरुण नदीमा बेपत्ता भएका दुई बालिका अझै भेटिएका छैनन् । उनीहरूको खोजी कार्य भने जारी राखिएको छ ।

हतुवागढी गाउँपालिका–९, मचुवाटारका १३ वर्षीया खुसी राई र १२ वर्षीया कृषिका राई अरुण नदीमा बेपत्ता भएका हुन ।

बुधबार दिउँसो नुहाउन भनेर नदीमा गएका उनीहरू बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । दुवै जना कक्षा ८ का विद्यार्थी हुन् । आफ्ना छोरीहरू बेलुकासम्म घर नआएपछि आफन्तले प्रहरीमा खबर गरेका थिए ।

आफन्तले खबर गरेसँगै बालिकाहरूको खोजी कार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

नदीमा पानी सतह बढेको जानकारी आए पनि खोजी कार्य तीव्र पारिएको र अहिलेसम्म उनीहरूलाई फेला पर्न नसकिएको प्रहरीले जनाएको छ । । खोजीका लागि धनकुटा, सुनसरी र सप्तरी प्रहरीसँग समन्वय गरिएको छ ।