मोरङ कारागारका थुनुवाको कोशी अस्पतालमा मृत्यु

न्युजलय २१ बैशाख २०८२, आइतबार ०१:२३ मा प्रकाशित

विराटनगर । जिल्ला कारागार मोरङमा एक थुनुवाको विराटनगरस्थित कोशी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

रामेछाप जिल्लाको दोरम्बा–सैलुङ गाउँपालिका–२ का ५४ वर्षीय प्रवीण तामाङको मृत्यु भएको कारागारका जेलर गौरव ढुंगेलले बताएका छन् ।

ठगी मुद्दामा थुनामा रहेका तामाङलाई श्वासप्रश्वासमा समस्या आएपछि शनिबार साँझ अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा आइतबार बिहान तामाङको ज्यान गएको ढुंगेलले जानकारी दिए । 

तामाङ २०८१ पुस १६ गते अदालतको आदेशअनुसार पुर्पक्षका लागि कारागार चलान भएका थिए । उनको ठगीसम्बन्धी मुद्दा अझै अदालतमा विचाराधीन अवस्थामा रहेको बताइएको छ ।

तामाङको शव कोशी अस्पतालमै राखिएको छ ।