पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिका–५ मा निर्माणाधीन सेप्टिक ट्याङ्कीमा काम गर्ने क्रममा निसासिएर एक श्रमिकको ज्यान गएको छ भने तीन जना बेहोस भएका छन्। मृत्यु हुनेमा ३८ वर्षीय रत्न चेम्जोङ रहेका छन्।
फाल्गुनन्दको घुर्विसे पञ्चमी सहकारी संस्था भवनमा सेप्टिक ट्याङ्की निर्माण भइरहेको थियो।
सोही क्रममा बुधबार साँझ चार जना श्रमिक एकपछि अर्को गर्दै ट्याङ्कीमा पसेका थिए।
प्रहरीका अनुसार सुरुवाती तीन जना मजदुर अक्सिजनको कमीका कारण बेहोस भएपछि उनीहरूलाई बचाउन गएका अर्का एक जना पनि निसासिएर बेहोस भएका थिए।
इलाम अस्पतालमा लगिएपछि चिकित्सकहरूले चेम्जोङलाई मृत घोषित गरेको प्रहरीले जनाएको छ । अन्य तीनजना मध्ये २४ वर्षीय भीष्म चेम्जोङको अवस्था गम्भीर रहेको र उनलाई उपचारका लागि झापाको बिर्तासिटी अस्पताल पठाइएको प्रहरीको भनाइ छ।
४० वर्षीय बिरु चेम्जोङ र ३० वर्षीय संगीत चेम्जोङको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।
घटनापछि प्रहरी चौकी फाक्तेपबाट प्रहरी टोली र स्थानीय बासिन्दाहरूको सहयोगमा उद्धार प्रयास थालिएको थियो ।
घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।