भोजपुरको कावाखोलामा पक्की पुल निर्माण

न्युजलय ११ फाल्गुण २०८१, आइतबार ११:४९ मा प्रकाशित

भोजपुर । जिल्ला सदरमुकामलाई दक्षिणी क्षेत्रसँग जोड्ने कावाखोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ । हतुवागढी गाउँपालिका–२ रानीबास र रामप्रसादराई गाउँपालिका–५ मानेभञ्याङ जोड्ने कावाखोलामा पुल निर्माण सम्पन्न भएको हो । 

स्टिल ट्रस ओपन फाउन्डेसन, एक स्पानमा निर्माण भएको पुल ४६ मिटर लम्बाइ, छ मिटर चौडाइ र एक दशमलव २० मिटरको दुवैतिर पैदल हिँड्न मिल्नेगरी निर्माण गरिएको कोशी प्रदेश, प्रादेशिक स्थानीय सडक पुल सहयोग एकाइले जनाएको छ । पुल भ्याटसहित चार करोड ६२ लाख ७४ हजार नौ सय १० लागतमा निर्माण भएको हो ।

यो खोलामा स्वीस सरकारको आर्थिक सहयोगमा २०७६ फागुन १२ मा शिलान्यास गरेर काम थालिएको थियो । निर्माणको अन्तिम चरणमा पुगेको पुल ढलान गरेपछि २०७८ मङ्सिरमा भाँचिएका थियो । निर्माणका क्रममा पुल भाचिएपछि यहाँ पुनः पुल निर्माण भएको हो ।